Date

बिहि, जेष्ठ २२, २०८२
Thu, June 5, 2025

सांसदहरूको सिफारिसमा खर्च गर्न पाउने बजेट ३४ अर्ब ६५ करोड

सांसदहरूको सिफारिसमा खर्च गर्न पाउने बजेट ३४ अर्ब ६५ करोड

काठमाडौँ, १८ जेष्ठ । प्रतिनिधि सभाका सांसदहरूको सिफारिसमा खर्च गर्न पाउने गरी सरकारले (सांसद विकास कोष) ३४ अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याएको पाइएको छ ।

बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद्को दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत यस्तो रकम विनियोजन गराएका हुन् ।

जसअनुसार देशभरका १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तथा समानुपातिक रूपमा निर्वाचित सांसदको सिफारिसमा योजना छनोट गरी खर्च गर्न सक्नेछन् । विकासे मन्त्रालयको रूपमा चिनिने सहरी विकास मन्त्रालयको बजेट यो वर्ष २७.७५ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षका लागि ९२ अर्ब ६३ करोड ५४ लाख वार्षिक बजेट रहेको यस मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो कुल बजेटको ६.०२ प्रतिशत हो । अघिल्लो वर्ष यो हिस्सा ४.९८ प्रतिशत थियो ।

सहरी विकास मन्त्रीका रूपमा नेपाली कांग्रेसबाट सरकारको प्रतिनिधित्व गरेका प्रकाशमान सिंह छन् । उनले मन्त्रालयमा चालु आर्थिक वर्षको ९२ अर्ब ६३ करोड रुपैयाँमा संशोधित बजेट ६८ अर्ब ३ करोडमा २३.७२ प्रतिशतले घटाएर आगामी आर्थिक वर्षका लागि ५१ अर्ब ८९ करोड सिलिङ पाएका थिए ।

योजना आयोगले सबैभन्दा बढी सहरी विकास मन्त्रालयको बजेट सिलिङ घटाएको थियो । तर अर्थमन्त्री पौडेलले बजेट प्रस्तुत गर्दा सांसद विकास कोषको समेत रकम सहरी विकास मन्त्रालयमा राखेर एक्कासि सिंहको मन्त्रालयलाई ‘सरप्राइज’ दिएका हुन् । जसअनुसार करिब ५२ अर्बको सिलिङ पाएको सहरी विकास मन्त्रालयले अनपेक्षित रूपमा १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ बजेट पाएको छ ।

मन्त्रालयको १ खर्ब १८ अर्ब ३४ करोड ४४ लाख रुपैयाँमध्ये ५० वटा बस्ती विकासमा ३ करोडका दरले १ अर्ब ५० करोड रुपैयाँ राखिएको छ । त्यस्तै, सघन सहरी योजनाअन्तर्गत ३० वटा नगरपालिकामा ५ करोडका दरले १ अर्ब ५० करोड बजेट विनियोजन गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।

एउटा निर्वाचन क्षेत्रमा सात वटा योजना छुट्याइएको छ । जसअनुसार प्रत्येक योजनालाई ३ करोड रुपैयाँका दरले एउटा क्षेत्रमा २१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसरी हेर्दा १६५ वटा निर्वाचना क्षेत्रमा ३४ अर्ब ६५ करोड रुपैयाँ सहरी विकास मन्त्रालयमार्फत विनियोजन गर्दा बजेटको आकार २७.७५ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

सांसदहरूले उक्त मन्त्रालयमार्फत निर्वाचन क्षेत्रमा छनोट गरेका योजना कार्यान्वयन गर्ने गरी बजेट विनियोजन सिलिङभन्दा बढी दिइएको स्रोतको भनाइ छ । स्रोतले भन्यो, ‘विनियोजन बजेटमा सांसद विकास कोष र निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम केही पनि उल्लेख भएको छैन । तर सांसदहरूका लागि एक निर्वाचन क्षेत्रमा सात योजनामा ३ करोडका दरले मन्त्रालयअन्तरर्गत बजेट राखिएको छ । त्यसैले मन्त्रालयको बजेट बढेर आएको हो ।’

अर्थमन्त्री पौडेलले बजेटका विषयमा जानकारी दिन शुक्रबार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा कुन शीर्षकमा सांसद विकास कोषका लागि बजेट छुट्याएको भन्दै प्रश्न उठेको थियो । तर अर्थमन्त्रीले प्रस्ट जवाफ दिएनन् ।

बरु उनले ‘मैले मात्रै सबै जवाफ के दिने, पत्रकार साथीहरूले पनि सहयोग गर्नुहोस्, बजेटमा सांसद विकास कोषको पैसा कहाँनिर छ, खोजेर मलाई सहयोग गरिदिनुहोस्’ भने ।

अर्थमन्त्रीले प्रस्ट जवाफ नदिए पनि सांसदहरूले छनोट गरेका आयोजना खर्च गर्न पाउने गरी मन्त्रालयका आयोजनामा सांसद विकास कोषको बजेट विनियोजन गरेका हुन् ।
विगतमा सरकारले सांसद विकास कोष, निर्वाचन क्षेत्र रणनीतिक कार्यक्रमलगायत नामबाट सांसदलाई बजेट बाँड्ने गरेको थियो । तर यो वर्ष त्यस्तै कुनै पनि कार्यक्रमविना सहरी विकास मन्त्रालयको बजेटमा लगेर राखिएको स्रोतले जनाएको छ ।

अर्थमन्त्रीले बजेटमा कतै पनि ‘सांसदले छनोट गरेका योजनामा रकम छुट्याएको छु’ भन्दै बजेट भाषण गरेका थिएन् । तर सांसदहरूले बजेटका विषयमा बाहिर विरोध र आलोचनासमेत गरेनन् । बजेट आउनुअघि सांसदहरूले आफूहरूले छनोट गरेका र जनतालाई आवश्यक पर्ने निर्वाचन क्षेत्रकेन्द्रित बजेट खर्च गर्न पाउनुपर्ने माग गर्दै आएका थिए ।

अर्थात् अर्थमन्त्रीले सांसदका यस्ता योजना बाचन नगरे पनि उनीहरू मौन बस्नुको रहस्य यही देखिएको हो । मन्त्रालयमा विगत वर्षदेखि सांसदहरूले खुद्रे आयोजनाहरू राख्ने गरेका थिए । गत वर्ष पनि यस्ता धेरै योजनाहरू सहरी विकास मन्त्रालयमा राखिएको भन्दै केही सांसदले विरोध जनाएका थिए ।

अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षमा ३ करोडमुनिका आयोजना बजेटमा समावेश नगरेर मापदण्ड कार्यान्वयन गरेको दाबी गरेका छन् । सांसदहरू पनि कार्यान्वयन भएको भन्दै खुसी नै देखिएका छन् ।

अर्थमन्त्री पौडेलले सार्वजनिक कार्यक्रमहरूमा पनि बजेटमा ३ करोडमुनिका योजना नराख्ने बताउँदै आएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *