Date

शनि, असार ७, २०८२
Sat, June 21, 2025

संघीय संसदका दुवै सदनको बैठक आज: विनियोजन विधेयकमाथि छलफल, नागरिकता विधेयक पेश हुने

संघीय संसदका दुवै सदनको बैठक आज: विनियोजन विधेयकमाथि छलफल, नागरिकता विधेयक पेश हुने

काठमाडाैं, ५ असार । संघीय संसदका दुवै सदन, प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ। आजको बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेदेखि लिएर विभिन्न महत्वपूर्ण विधेयक तथा प्रतिवेदनहरू पेश हुने कार्यसूची रहेको छ।

प्रतिनिधि सभाको बैठक बिहान ११:०० बजेका लागि तय भएको छ। यस बैठकमा विनियोजन विधेयक, २०८२ माथि छलफल सुरु हुनेछ। कार्यसूचीअनुसार वन तथा वातावरण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलगायत सातवटा मन्त्रालयका विभिन्न शीर्षकहरूमा समूहगत छलफल हुनेछ। संघीय संसद सचिवालयले विनियोजन विधेयक, २०८२ माथि हुने छलफलका क्रममा मन्त्रालयहरूको विभिन्न शीर्षकमा खर्च कटौतीका प्रस्तावहरू समेत पेश गर्ने कार्यसूची रहेको जनाएको छ।

यसैगरी, प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८२’ सम्बन्धी प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ। स्मरणीय छ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘भिजिट भिसा’ काण्ड छानबिन आयोग गठनको माग गर्दै गृहमन्त्रीको राजीनामाको मागसहित संसद अवरोध गर्दै आएका छन्।

यता, राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे सुरु हुनेछ। राष्ट्रिय सभाको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी प्रश्नोत्तरमा सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

त्यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति’ सम्बन्धी अध्ययन प्रतिवेदन–२०८१ पेश गर्नुहुनेछ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘भन्सार विधेयक, २०८०’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव पेश गर्ने कार्यसूची पनि रहेको छ। बैठकले संविधान सभा सदस्य वीरेन्द्र जुहारचन र पूर्व प्रतिनिधि सभा सदस्य धुन्दिराज शास्त्रीको निधनमा शोक प्रस्ताव समेत प्रस्तुत गरी श्रद्धाञ्जली व्यक्त गर्नेछ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *