Date

शनि, असार ७, २०८२
Sat, June 21, 2025

इजरायल–इरान द्वन्द्व: परराष्ट्र मन्त्रालयद्वारा नेपालीलाई यात्रामा सावधानी अपनाउन आग्रह

इजरायल–इरान द्वन्द्व: परराष्ट्र मन्त्रालयद्वारा नेपालीलाई यात्रामा सावधानी अपनाउन आग्रह

काठमाडाैं, ५ असार । इजरायल र इरानबीच जारी द्वन्द्वको सन्दर्भमा परराष्ट्र मन्त्रालयले नेपाली नागरिकहरूलाई विशेष सावधानी अपनाउन आग्रह गर्दै एक यात्रा सूचना (ट्राभल एडभाइजरी) जारी गरेको छ। मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै इजरायल, इरान वा मध्यपूर्वका अन्य देशहरूमा भ्रमण वा वैदेशिक रोजगारीका लागि जान योजना बनाइरहेका नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको हो।

मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेअनुसार, हालको द्वन्द्वग्रस्त परिस्थिति रहेसम्म इजरायल र इरानमा वैदेशिक रोजगारी वा अन्य कुनै पनि उद्देश्यले यात्रा गर्ने नेपाली नागरिकहरूलाई त्यस्ता यात्रा वा भ्रमण नगर्न आग्रह गरिएको छ। यसैगरी, इजरायल र इरानबाहेक मध्यपूर्वका अन्य देशहरूमा भ्रमण वा वैदेशिक रोजगारीका लागि जान तयारी गरिरहेका नेपाली नागरिकहरूलाई पनि वर्तमान अस्थिर अवस्था कायम रहेसम्म त्यस्ता यात्रा स्थगित गर्न भनिएको छ।

नेपाल सरकारले परिस्थितिको नजिकबाट अनुगमन गरिरहेको र त्यहाँ हाल बसोबास गरिरहेका नेपाली नागरिकहरू अहिलेसम्म सुरक्षित रहेको जानकारी दिएको छ। मन्त्रालयका अनुसार, विदेशमा रहेका नेपाली नागरिकहरूको हितको रक्षाका लागि उपयुक्त कदम चालिनेछ।

इजरायल र इरानबीच हवाई मार्गहरू बन्द भएकाले स्वेच्छिक रूपमा नेपाल फर्कन चाहने नेपाली नागरिकहरूले तेस्रो मुलुकको ‘ट्रान्जिट भिसा’ लिनुपर्ने अवस्था आउन सक्ने मन्त्रालयले जनाएको छ। यस प्रक्रियालाई सहज बनाउन आवश्यक उपायहरू अपनाइने विज्ञप्तिमा उल्लेख छ।

परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई अत्यावश्यक कामबाहेक घरभित्रै बस्न र सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको छ। उनीहरूलाई इजरायली अधिकारीहरूले जारी गरेका सुरक्षा सल्लाहहरू निरन्तर पालना गर्न र नेपाली दूतावास तथा परराष्ट्र मन्त्रालयबाट जारी गरिने जानकारीहरू नियमित रूपमा जाँच गरिरहन पनि आग्रह गरिएको छ।

आपत्कालीन अवस्थामा, परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र नेपाली दूतावासका वेबसाइटहरूमा उपलब्ध ‘अनलाइन लिङ्क’ मार्फत आफ्नो विवरण दर्ता गर्न समेत सल्लाह दिइएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *