तरकारीको मूल्य अचाक्ली बढेपछि सरकारले थाल्यो बजार अनुगमन, कालिमाटीबाट दुई वटा ट्रक नियन्त्रणमा
काठमाडौं, ४ भद्रौ । सरकारी अनुगमन टोलीले काठमाडौंको कालिमाटीस्थित तरकारी बजारबाट दुई वटा ट्रक नियन्त्रणमा लिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले उपत्यका बाहिरबाट फर्सी र काँक्रो लिएर आएका दुई ट्रकसँग बिलविजकलगायतका कागजात नभेटिएपछि नियन्त्रणमा लिएको हो ।
तरकारीको मूल्य अचाक्ली बढेको भन्दै विरोध हुन थालेपछि सरकारले बजार अनुगमन सुरु गरेको हो । सो क्रममा टोलीले विभिन्न पसल र सवारीमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा किसानले बिक्री गर्दाको भन्दा ५ गुणासम्म बढी तरकारीको बिक्री मूल्य पाइएको टोलीले जनाएको छ ।
यसैबीच विना जानकारी अनुगमन गरेको भन्दै व्यवसायीहरु विरोधमा उत्रिएपछि कालीबजार केहीबेर तनावग्रस्त बनेको थियो ।