विकासको यात्रामा सरकार जनतासँग काँधमा काँध मिलाएर अघि बढ्छ : खानेपानीमन्त्री यादव

काठमाडाैं, ३० असार । खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापन मन्त्री प्रदीप यादवले सरकार देश र नागरिकको समुन्नत विकास यात्रामा जनतासँग काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको लम्की साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अन्तर्गत सह-लगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले उक्त धारणा राखेकाे हो।
मन्त्री यादवले भने, “समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी छ। सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ।” उनले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोड्दै नागरिकको जीवनस्तर उकास्ने प्रयासलाई सरकारले प्राथमिकता दिएको उल्लेख गरे।
सुदूरपश्चिम प्रदेशको राजधानी रहेको कैलाली जिल्लामा विकासका थुप्रै पूर्वाधार निर्माण भएपनि लम्कीचुहामा अझै खानेपानीको समस्या रहेको भन्दै उक्त आयोजनाको शिलान्यास गरेर समस्या समाधानको प्रयास गरिएको मन्त्री यादवले बताए।
उनले थपे, “देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु हाम्रो सर्वोच्च प्राथमिकता र दीर्घकालीन नीतिगत प्रतिबद्धता हो। यही लक्ष्यलाई सार्थक बनाउँदै हामी गाउँ–सहर, हिमाल–पहाड–तराईसम्मका बस्तीमा खानेपानी पूर्वाधार निर्माणमा गति, पारदर्शिता र गुणस्तर थपिरहेका छौँ।”
शिलान्यास कार्यक्रममा उहाँले आयोजनाले लम्कीचुहाका बासिन्दाको जीवनमा सुख, समृद्धि र स्वस्थता ल्याउने अपेक्षा राख्दै ‘स्वच्छ पानी, स्वस्थ जीवन’ को अभियानलाई सफल बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको उल्लेख गरे।
लम्कीचुहा नगरपालिकाका नगरप्रमुख शुसिला शाहीले आयोजनाको दोस्रो चरण सम्पन्न भएपछि स्थानीय नागरिकहरू खानेपानी समस्याबाट मुक्त हुने भन्दै धन्यवाद ज्ञापन गरे।
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठका अनुसार आयोजनाको दोस्रो चरण सम्पन्न भएपछि वडा नं. १, २, ३, ४ र ५ का कम्तिमा ७४ हजार ५०० नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।
उनका अनुसार आयोजनामा नेपाल सरकारको ७० प्रतिशत, उपभोक्ता समितिको २५ प्रतिशत र लम्कीचुहा नगरपालिकाको ५ प्रतिशत लागत साझेदारी रहेको छ।
लम्कीचुहा सह-लगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तर्गत प्याकेज–२ निर्माणका लागि यही असार २३ गते निर्माण व्यवसायी सुप्रिम जयमाता जेभी र संघीय आयोजना कार्यालयबीच ठेक्का सम्झौता भई कार्यादेश प्रदान गरिएको आयोजनाका प्रमुख अरुणकुमार कर्णले जानकारी दिए।
उनका अनुसार मूल्य अभिवृद्धि कर सहित कुल २९ करोड ४८ लाख ३२ हजार ४९९ रुपैयाँको लागतमा सम्झौता भएको हो। निर्माण कार्य आगामी २०८५ सालको असार २५ गतेभित्र सम्पन्न गर्नुपर्नेछ।
शिलान्यास कार्यक्रममा मन्त्रालयका सचिव प्रमिलादेबी शाक्य बज्राचार्य, सहसचिव कमलराज श्रेष्ठ, उपभोक्ता समितिका पदाधिकारी, निर्माण व्यवसायी तथा स्थानीय उपभोक्ताहरूको उपस्थिति रहेको थियो।