राष्ट्रपतिद्वारा तीन आर्थिक विधेयक प्रमाणीकरण, संघीय कार्यसम्पादनमा विधिसम्मत बाटो खुलेको संकेत

काठमाडाैं, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सरकारको आर्थिक कार्यसम्पादनसँग सम्बन्धित तीन महत्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन्। शीतल निवासले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै संविधानको धारा ११३(२) अनुसार राष्ट्रपति पौडेलले ती विधेयकहरूमा हस्ताक्षर गरेकाे जानकारी दिएको हो।
प्रमाणीकरण गरिएका तीन विधेयकहरू यस्ता छन्:
१. आर्थिक वर्ष २०८२/८३ को सेवा तथा कार्यका लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन तथा खर्चको व्यवस्था गर्ने विधेयक,
२. नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक, र
३. राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक।
राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार, यी विधेयकहरू संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेस भएका थिए। प्रमाणीकरणसँगै अब सरकारलाई चालु आर्थिक वर्षमा संघीय कोष प्रयोग गर्ने, ऋण उठाउने र बजेट कार्यान्वयनका प्रक्रियाहरू विधिसम्मत रूपमा अघि बढाउने संवैधानिक बाटो खुलेको छ।
विशेषज्ञहरूका अनुसार, आर्थिक विधेयकहरूको प्रमाणीकरणले सरकारको वित्तीय संचालनमा स्पष्टता र वैधानिकता प्रदान गर्नेछ, जुन राष्ट्रिय बजेट कार्यान्वयनको मूल आधार हो। राष्ट्रपति पौडेलको हस्ताक्षरसँगै यी विधेयकहरू अब प्रचलनमा ल्याउन कानुनी वैधता प्राप्त गरेका छन्, जसले संघीय शासन प्रणालीलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।