भिजिट भिसा काण्डमा छानबिन समिति नबनेपछि संसद बैठक बहिष्कारमा उत्रिए रा.स्व.पा. र रा.प्र.पा.

काठमाडाैं, ३० असार । भिजिट भिसा काण्डको छानबिनका लागि विशेष संसदीय समिति वा उच्चस्तरीय न्यायिक आयोग गठन नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) र राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) ले बुधबारको संघीय संसदको प्रतिनिधि सभा बैठक बहिष्कार गरेका छन्।
बैठक सुरु हुने बित्तिकै सभामुख देवराज घिमिरेले बैठक प्रारम्भ भएको घोषणा गरेपछि रा.स्व.पा. र रा.प्र.पा.का सांसदहरू उठेर विरोध जनाए। त्यसपछि सभामुख घिमिरेले रा.स्व.पा.का सांसद अशोक चौधरीलाई बोल्न अनुमति दिए।
सांसद चौधरीले भने, “हामीले पटक–पटक भिजिट भिसा प्रकरणमा छानबिन समिति गठनको माग गर्दा पनि सरकार बेवास्ता गरिरहेकाले, हाम्रो विरोध शान्त तर प्रभावकारी ढंगले जारी रहनेछ। हामी आजको बैठकमा भाग लिन्नौं।” त्यसपछि सभामुखले रा.प्र.पा. अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोल्न समय दिए। लिङ्देनले पनि आफ्नो दलको अडान दोहोर्याउँदै भने, “सरकारले हाम्रो मागलाई अझै बेवास्ता गर्दै आएको छ। छानबिन समिति गठन नभएसम्म हाम्रो विरोध निरन्तर जारी रहनेछ।”
यसपछि दुवै दलका सांसदहरू संसदको बैठक कक्षबाट बाहिरिए र बैठक बहिष्कार गरे। भिजिट भिसा प्रकरण पछिल्लो समय गम्भीर सार्वजनिक चासोको विषय बनेको छ। रा.स्व.पा. र रा.प्र.पा.ले यसमा संलग्न उच्च पदस्थ व्यक्तिहरूको भूमिकाबारे स्पष्ट छानबिन हुनु आवश्यक रहेको भन्दै संसदीय तहबाट अनुसन्धान समिति गठनको माग गरिरहेका छन्।
सरकारले हालसम्म उक्त मागमा स्पष्ट धारणा नदिएपछि विपक्षी दलहरूले सडकदेखि संसदसम्म आन्दोलनको चेतावनी दिँदै आएका छन्।