Date

शुक्र, साउन २, २०८२
Fri, July 18, 2025

१० वर्षे यात्रामा प्रभु हेलिकप्टर: गुणस्तरीय सेवा विस्तार र आइपिओ तयारीमा दृढ प्रतिबद्धता

१० वर्षे यात्रामा प्रभु हेलिकप्टर: गुणस्तरीय सेवा विस्तार र आइपिओ तयारीमा दृढ प्रतिबद्धता

काठमाडाैं, २ साउन । नेपालको पहाडी भूगोलमा हवाई यात्राको भरपर्दो विकल्प बनेको प्रभु हेलिकप्टर लिमिटेडले आफ्नो स्थापनाको १० औं वर्षमा प्रवेश गरेको छ। एक दशकको सफल यात्राका अवसरमा कम्पनीका अध्यक्ष सुभाष अमात्यले यात्रु, साझेदार, सेवा उपयोगकर्तासहित सम्पूर्ण हितधारकप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी र सुरक्षित सेवा दिने प्रतिबद्धता जनाएका छन्।

२०७२ सालमा प्रभु ग्रुपले तत्कालीन मुक्तिनाथ हेलिकप्टरको सम्पूर्ण सेयर खरिद गर्दै “प्रभु हेलिकप्टर” को नामबाट पुनः सञ्चालनमा ल्याएको थियो। सुरुवातमा एउटा मात्र रोबिन्सन हेलिकप्टरबाट सेवा प्रारम्भ गरेको कम्पनीले अहिले दुईवटा अत्याधुनिक एयरबस H125 हेलिकप्टरमार्फत नियमित उडान सेवा दिइरहेको छ।

पर्यटन, उद्धार र विशेष गन्तव्यहरूमा उल्लेखनीय उपस्थिति

प्रभु हेलिकप्टरले नेपालको पर्यटन प्रवर्द्धनसँगै स्वास्थ्य आपतकालीन उद्धार, उच्च हिमाली क्षेत्रमा सामग्री ढुवानी, र साइटसिइङजस्ता विशेष सेवा विस्तार गर्दै आएको छ। हाल कम्पनीले पोखरा, काठमाडौं र लाङटाङ क्षेत्रबाट हेलिकप्टर टुर संचालन गर्दै आएको छ। साथै, मुक्तिनाथ, गोसाइकुण्ड, कालीञ्चोक भगवती, लुम्बिनी, सगरमाथा, अन्नपूर्ण र माछापुछ्रे हिमाल आधार शिविरसम्म उडान सेवा उपलब्ध गराउँदै आइरहेको छ।

पब्लिक लिमिटेडमा रूपान्तरण, अब सर्वसाधारणका लागि सेयर

कम्पनीले सुरुमा कम्पनी ऐन, २०६३ अनुसार एक निजी लिमिटेडको रूपमा दर्ता भए तापनि २०७९ असार ३० गतेदेखि सार्वजनिक कम्पनी (पब्लिक लिमिटेड) मा रूपान्तरण भइसकेको छ। यसै क्रममा प्रभु हेलिकप्टरले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने तयारी गरिरहेको छ। यस प्रयोजनका लागि मुक्तिनाथ क्यापिटललाई आइपिओ बिक्री प्रबन्धकको रूपमा नियुक्त गरिएको छ।

कम्पनी हाल नेपाल नागरिक उड्डयन प्राधिकरणद्वारा जारी गरिएको एयर अपरेटर सर्टिफिकेट (AOC) नं. ०८१/२१३‑१ अन्तर्गत आधिकारिक रूपमा सञ्चालनमा रहेको छ। पोखरास्थित आफ्नै ह्याङ्गर सुविधा तथा दक्ष प्राविधिक सहयोगका कारण कम्पनीले उच्चस्तरीय हवाई सेवा सुनिश्चित गर्दै आएको दाबी गरिएको छ।

अध्यक्ष अमात्यले विज्ञप्तिमार्फत भनेका छन्, “नेपालको विविध र चुनौतीपूर्ण भौगोलिक अवस्थामा सुरक्षित, भरपर्दो र प्रभावकारी हवाई यातायात सेवामा निरन्तर लागिरहेका छौं। भविष्यमा पनि यात्रु तथा सेवाग्राहीको माया र विश्वास कायम रहोस् भन्ने अपेक्षा राखेका छौं।”

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *