Date

शुक्र, साउन २, २०८२
Fri, July 18, 2025

ऊर्जा क्षेत्रमा अभूतपूर्व उकालो: एकै वर्षमा २७७ आयोजनाले पाए उत्पादन इजाजत, सौर्य र प्रसारण क्षेत्रमा पनि तीव्र गति

ऊर्जा क्षेत्रमा अभूतपूर्व उकालो: एकै वर्षमा २७७ आयोजनाले पाए उत्पादन इजाजत, सौर्य र प्रसारण क्षेत्रमा पनि तीव्र गति

काठमाडाैं, २ साउन । नेपालको ऊर्जा क्षेत्रले आर्थिक वर्ष २०८०/८१ (2023/24) मा उल्लेखनीय उन्नति गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार एकै वर्षमा २७७ वटा जलविद्युत् र सौर्य आयोजनाहरूले कुल १० हजार ८५० मेगावाट बराबरको उत्पादन इजाजत पाएका छन्।

ऊर्जा मन्त्री दीपक खड्काको कार्यकालसँगै तीव्र रुपमा स्वीकृत आयोजना संख्या बढेको मन्त्रालयले जनाएको छ।

जलविद्युत् र सौर्य दुबै क्षेत्रमा फड्को

गत वर्ष २६५ वटा जलविद्युत् आयोजनाहरूले १० हजार ७५१ मेगावाट बराबरको उत्पादन अनुमति प्राप्त गरेका छन् भने १३ वटा सौर्य आयोजनाले ९९ मेगावाट बराबरको इजाजत लिएका छन्। यसबाहेक थप ३० जलविद्युत् आयोजना (१,२४३ मेगावाट) र ८ सौर्य आयोजना (५० मेगावाट) लाई व्यक्तिगत रूपमा पनि उत्पादन स्वीकृति दिइएको छ।

त्यसैगरी, सर्वेक्षण इजाजत प्राप्त आयोजनाहरूमा पनि उल्लेखनीय वृद्धि देखिएको छ। १४७ जलविद्युत् आयोजना (८,७७६ मेगावाट) र १,८५१ मेगावाट क्षमताका सौर्य आयोजनालाई सर्वेक्षण अनुमति दिइएको छ।

प्रसारण लाइनमा लगानी र विस्तार

ऊर्जा पूर्वाधार विस्तार अन्तर्गत प्रसारण लाइन र सबस्टेसन निर्माणमा पनि महत्त्वपूर्ण प्रगति भएको छ। पछिल्लो वर्ष ३०० सर्किट किलोमिटर प्रसारण लाइन र ७०० एमभीए क्षमताका सबस्टेसन निर्माण सम्पन्न भएको छ।

अहिले नेपालमा कुल ६,८०० सर्किट किलोमिटर प्रसारण लाइन र १३,७५४ एमभीए क्षमताका सबस्टेसनहरू क्रियाशील छन्। थप रूपमा, ६९ वटा प्रसारण लाइन (१,०३१ सर्किट किलोमिटर) का लागि सर्वेक्षण अनुमति र २६ वटा (२७८ सर्किट किलोमिटर) लाई निर्माण अनुमति दिइएको छ।

हालसम्म कुल १४४ प्रसारण लाइन सर्वेक्षण (३,१७४ सर्किट किलोमिटर) र २७१ प्रसारण इजाजत (५,७०६ सर्किट किलोमिटर) प्रदान गरिएको छ, जसले आगामी वर्षहरूमा प्रसारण पूर्वाधार अझ व्यापक हुने स्पष्ट संकेत गर्छ।

रणनीतिक प्रभाव

ऊर्जा मन्त्रालयको सक्रियता, नीतिगत स्पष्टता र लगानीमैत्री दृष्टिकोणले गर्दा निजी क्षेत्रले समेत ठूलो संख्यामा सहभागिता जनाएको देखिन्छ।

विद्युत् उत्पादन र प्रसारण दुवै क्षेत्रमा यस्तो तीव्र प्रगति हुनु ऊर्जा निर्यातको तयारीको चरणका लागि सकारात्मक संकेत हो। अब कार्यान्वयन र समयमै निर्माण सम्पन्न गर्ने चुनौती मात्रै बाँकी रहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *