राष्ट्रिय परिचयपत्र सेवामा प्राविधिक अवरोध, अनलाइन दर्तादेखि भत्ता नविकरणसम्म प्रभावित

काठमाडाैं, ५ साउन ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आफ्ना सेवाहरूमा प्राविधिक अवरोध आएको जानकारी गराएको छ। विभागका सूचना अधिकारी शिवराज सेढाईंका अनुसार व्यवस्थापन सूचना प्रणाली (MIS) को नियमित मर्मत तथा क्षमता अभिवृद्धिका लागि प्राविधिक टोली खटिएकाले सेवा आंशिक रूपमा प्रभावित भएको हो।
सेढाईंका अनुसार, अनलाइन दर्ता, राष्ट्रिय परिचयपत्र वितरण, विवरण सच्याउने सेवा, साथै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभार्थीहरूको अनलाइन दर्ता र नविकरण जस्ता MIS प्रणालीसँग एकीकृत सेवाहरू आइतबारदेखि प्रभावित भएका छन्।
विभागले सार्वजनिक सूचना जारी गर्दै मर्मत र प्रणाली सुदृढीकरणको कार्य सम्पन्न भएलगत्तै सम्पूर्ण सेवा सुचारु हुने जानकारी दिएको छ। हाल प्रभावित सेवा पुनःस्थापनाको काम तीव्र गतिमा भइरहेको विभागले जनाएको छ।
यसैबीच, विभागले सेवा लिन आउने नागरिकहरूलाई कार्ड वितरण र विवरण पेस गर्ने कार्यहरू अफलाइनमार्फत पनि गर्न सकिने जनाएको छ। आवश्यक पर्ने नागरिक सेवाहरूको पूर्णत: अवरोध नभएको भन्दै, विभागले असहज अवस्था भए पनि नागरिकहरूको सेवा प्रवाहमा समस्या नआओस् भन्ने उद्देश्यले अस्थायी वैकल्पिक व्यवस्थाहरू अपनाइएको स्पष्ट पारेको छ।
राष्ट्रिय परिचयपत्र कार्यक्रम देशभर तीव्र रूपमा फैलिरहेको बेला यस्तो प्राविधिक अवरोधले केही समयका लागि असहजता ल्याए पनि विभागले यसलाई दीर्घकालीन सेवा सुधारको हिस्सा भएको जनाएको छ। सेवा पुनःसञ्चालनपछि प्रणाली अझ सक्षम र भरपर्दो हुने विश्वास गरिएको छ।