अध्यागमन सेवा सशक्त बनाउँदै गृह मन्त्रालय, त्रिभुवन विमानस्थलमा ४५ नयाँ शाखा अधिकृत खटाइए

काठमाडाैं, ५ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा ४५ जना नयाँ शाखा अधिकृत खटाइएका छन्। गृह मन्त्रालयले हालै लोकसेवा आयोगबाट उत्तीर्ण भएका अधिकृतहरूलाई तीन दिने तालिमपछि सोमबारदेखि कार्यस्थलमा खटाएको हो।
यो कदम अध्यागमन सेवा सुधार तथा पारदर्शिता कायम गर्न गरिएको उल्लेख गर्दै गृह मन्त्रालयले सेवाग्राहीमैत्री सेवा प्रवाह, क्षमता अभिवृद्धि, र सूचनाको सुरक्षालाई सुनिश्चित गर्ने लक्ष्य लिएको बताएको छ। नवखटिएका अधिकृतहरू अध्यागमन कार्यालयका विभिन्न कक्षहरूमा खटिनेछन्। उनीहरूले अध्यागमनसम्बन्धी विदेश यात्रा स्वीकृति, आगमन र प्रस्थान, राहदानी चेकजाँच, आप्रवासन नियमहरूको कार्यान्वयन लगायतका जिम्मेवारी सम्हाल्नेछन्।
यसबीच, त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको प्रमुखमा नयाँ सहसचिवको रूपमा सुरुवा भएका घिमिरे नियुक्त भएका छन्। घिमिरे यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रवक्ताको जिम्मेवारीमा कार्यरत थिए। केही दिनअघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४५ जना शाखा अधिकृतको नाम गृह मन्त्रालयमा पठाएको थियो। सोही अनुरूप गृह मन्त्रालयले ती अधिकृतलाई अध्यागमनमा खटाएको हो। मन्त्रालयका अनुसार खटाइएका संख्या बराबरकै शाखा अधिकृत मन्त्रालयमा फिर्ता बोलाइएको छ।
नयाँ अधिकृतहरूको उपस्थितिले अध्यागमन कार्यप्रणालीमा नवीनता, चाँडोपन, र शुद्धता ल्याउने अपेक्षा गरिएको छ। अध्यागमन कार्यालयमा लामो समयदेखि देखिँदै आएको जनशक्ति अभाव र सेवा ढिलासुस्ती समाधान गर्न पनि यो कदम प्रभावकारी हुने विश्वास लिइएको छ। गृह मन्त्रालयले अध्यागमन क्षेत्रमा आधुनिक प्रविधिको उपयोगसँगै दक्ष जनशक्ति परिचालन गर्दै राष्ट्रिय सुरक्षालाई थप मजबुत बनाउने रणनीति अघि सारेको छ।