Date

बुध, साउन ७, २०८२
Wed, July 23, 2025

‘इलेक्ट्रिकदेखि इन्धनसम्म’ : बिस्तारै गति लिँदैछ नेपाली अटो बजार, बाइक–इभी आयातमा उल्लेख्य वृद्धि

‘इलेक्ट्रिकदेखि इन्धनसम्म’ : बिस्तारै गति लिँदैछ नेपाली अटो बजार, बाइक–इभी आयातमा उल्लेख्य वृद्धि

काठमाडाैं, ६ साउन । लामो समयदेखि मन्दीमा रहेको नेपाली अटोमोबाइल बजार विस्तारै पुनः बाउन्स ब्याक हुने संकेत देखिन थालेको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्यांक अनुसार सबै प्रकारका सवारीसाधनहरूको आयात उल्लेख्य रूपमा बढेको छ। विशेषगरी इलेक्ट्रिक गाडी, बाइक तथा स्कुटरको व्यापारमा ठूलो उछाल आएको छ।

इलेक्ट्रिक प्यासेन्जर गाडी (EV) मा १४ प्रतिशतको वृद्धि
गत आर्थिक वर्षमा नेपालले कुल ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको १३ हजार ५७८ युनिट प्यासेन्जर इभी आयात गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १४ प्रतिशतले बढी हो। इभीको यो व्यापारबाट सरकारले १९ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन गरेको छ।

कमर्सियल EV मा ७३ प्रतिशतको बृद्धि
कमर्सियल प्रयोजनमा प्रयोग हुने इभीहरूको आयात झनै उल्लेख्य रहेको छ। गत वर्ष ३ हजार ८१३ युनिट कमर्सियल इभी आयात हुँदा त्यसको मूल्य ११ अर्ब ६ करोड रुपैयाँ पुगेको थियो। सरकारले यस खण्डबाट २ अर्ब ७३ करोड रुपैयाँ राजस्व उठाएको छ। अघिल्लो वर्ष यस्ता सवारीसाधनको संख्या मात्र १ हजार ५ युनिट थियो।

बाइक र स्कुटरको व्यापारमा ३४ प्रतिशतको उछाल
नेपाली बजारमा बाइक र स्कुटर पुनः लोकप्रिय बन्न थालेका छन्। अघिल्लो वर्षको तुलनामा बाइक–स्कुटर आयात ३४ प्रतिशतले बढेर कुल २ लाख १ हजार युनिट पुगेको छ। यसको कुल मूल्य २४ अर्ब ५० करोड रुपैयाँ रहेको छ भने सरकारले २४ अर्ब ७३ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।

तीन पाङ्ग्रे र साना इलेक्ट्रिक सवारीसाधनमा समेत वृद्धिको संकेत
तीन पाङ्ग्रे सवारीसाधनको आयात गत वर्ष ४ हजार २१२ युनिट पुगेको छ, जुन अघिल्लो वर्षको १ हजार ७१६ युनिट भन्दा निकै बढी हो। यसको मूल्य ८४ करोड रुपैयाँ बराबरको छ।

त्यस्तै, दुई तथा तीन पाङ्ग्रे इलेक्ट्रिक पावरट्रेनयुक्त सवारीसाधनको आयात २९ हजार ४३७ युनिट पुगेको छ, जुन अघिल्लो वर्षको २० हजार ७०४ युनिट भन्दा उल्लेख्य रूपमा बढी हो। यसको मूल्य २ अर्ब ९६ करोड रुपैयाँ बराबरको छ भने यसबाट १ अर्ब रुपैयाँ राजस्व उठेको छ।

इन्धन गाडीहरूको बजार पनि पुनः चलायमान
इन्धनबाट चल्ने प्यासेन्जर गाडीको आयात पनि बढेको छ। गत आर्थिक वर्ष ६ अर्ब ९३ करोड रुपैयाँ बराबरका ४ हजार ९७८ युनिट गाडी आयात गरिए, जसबाट सरकारले १६ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। अघिल्लो वर्ष ४ हजार २४६ युनिट मात्र आयात भएका थिए।

यस्तै, कमर्सियल इन्धन गाडी ४ हजार २३७ युनिट आयात गरिँदा त्यसको मूल्य ७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। सरकारलाई यसबाट ७ अर्ब ३६ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *