तीन सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त आयोजनामा १० बैंकले साढे ५२ अर्ब रुपैयाँ ऋण लगानी गर्ने

काठमाडौं, २३ साउन । गोरखामा बन्ने तीन सय ४१ मेगावाटको बुढीगण्डकी अर्धजलाशययुक्त जलविद्युत् (पिआरओआर) परियोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर)मा सम्झौता भएको छ ।
७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नेतृत्वमा १० बैंक तथा वित्तीय संस्थाले कन्स्टोटियम (संयुक्त) मोडेलमा ५२ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।
बिहीबार काठमाडौंमा एक कार्यक्रमबिच प्रवर्द्धक कम्पनी टाइम्स इनर्जी र बैंक तथा वित्तीय संस्थाबिच ऋण लगानी सम्झौता भएको हो । सम्झौतापत्रमा टाइम्स इनर्जीका सञ्चालक सुशील थापा र नेपाल इन्भेस्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन् ।
यस परियोजनामा ऋण लगानी गर्ने मामिलामा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले नेतृत्व गर्नेछ, उक्त बैंकले १० अर्ब रुपैयाँ ऋण दिनेछ । सहनेतृत्व गर्ने बैंकहरू नबिल बैंकले आठ अर्ब, लक्ष्मी सन्राइज बैंकले आठ अर्ब र ग्लोबल आइएमई बैंकले सात अर्ब रुपैयाँ ऋण दिनेछन् ।
यसैगरी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले चार अर्ब, माछापुच्छ«े बैंकले चार अर्ब, सिटिजन्स बैंकले तीन अर्ब, नेपाल इन्फ्रास्ट्रक्चर बैंकले तीन अर्ब, प्रभु बैंकले तीन अर्ब र कृषि विकास बैंकले दुई अर्ब ५० करोड रुपैयाँ सदस्यका रूपमा ऋण लगानी गर्नेछन् । परियोजनाको ऋण भुक्तानी अवधि पाँच वर्ष चार महिना तोकिएको छ ।
टाइम्स इनर्जीले परियोजना निर्माण तथा विद्युत् उत्पादनका लागि विद्युत् विकास विभागबाट पुस ०८० मै अनुमतिपत्र ल्याइसकेको छ । परियोजनाको विद्युत् बिक्री गर्न नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) पनि भइसकेको छ । अहिले पूर्वतयारी तथा पूर्वनिर्माणका काम भइरहेको आयोजनालाई छिट्टै अघि बढाउने कम्पनीले जनाएको छ । सिभिल निर्माणलगायतका मुख्य काम भने भदौबाट सुरु गर्ने तयारी छ । १५ पुस ०८७ सम्म परियोजना सञ्चालनमा ल्याउने कम्पनीको लक्ष्य छ ।
७० अर्ब लागत, साढे १७ अर्ब स्वपुँजी
७० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनामा ७५ प्रतिशत लगानी ऋणमार्फत जुटाइएको हो । बाँकी २५ प्रतिशत लगाानी अर्थात् १७ अर्ब ५० करोड रुपैयाँ भने प्रवर्द्धक कम्पनीले स्वपुँजीका रूपमा लगानी गर्नेछन् । टाइम्स इनर्जीमा साहस ऊर्जाको ५१ प्रतिशत सेयर स्वामित्व छ । तीन सय ४१ मेगावाटको यो परियोजना प्रतिमेगावाट २० करोड ५३ लाख रुपैयाँमा बन्नेछ । नेपालमा परियोजना लागत प्रतिमेगावाट औसत २० करोडभन्दा बढी नै छ । तर, कतिपय परियोजनाको लागत प्रतिमेगावाट ३० करोड रुपैयाँभन्दा माथि पनि हुने गरेको छ, त्यो अवस्थामा यो लागत सस्तो भएको कम्पनीको दाबी छ ।
प्राधिकरणसँग परियोजनाको विद्युत् खरिद सम्झौता ३० वर्षका लागि गरिएको छ । वर्षायामका लागि ४.८० रुपैयाँ, सामान्य सुक्खायामका लागि ८.४० रुपैयाँ र मुख्य सुक्खायामका लागि १०.५५ रुपैयाँ प्रतियुनिटमा सम्झौता गरिएको छ । परियोजनाबाट वर्षा याममा १३०४.०४ गिगावाट, सामान्य सुक्खायाममा २४३.४३ मेगावाट र मुख्य सुक्खायाममा ३२०.३० गिगावाट विद्युत् उत्पादन हुनेछ । यसले पनि परियोजनामा प्रतिफलको सम्भावना उच्च देखाएको उनले बताए । आयोजनाको लगानी प्रतिफल १६.९९ प्रतिशत हुने अनुमान गरिएको छ । सम्भाव्यता अध्ययनअनुसार आयोजना सञ्चालनमा आएको साढे पाँच वर्षमा साधारण लगानी फिर्ता गर्न सकिनेछ । अहिले नै परियोजनाको खुद मूल्यांकन २३ अर्ब २४ करोड रुपैयाँ रहेको छ ।
कस्तो बन्दै छ आयोजना ?
अर्धजलाशय प्रकृतिको यो परियोजना गोरखा जिल्लामा बन्नेछ । यो परियोजना काठमाडौंबाट एक सय ७० किमि दूरीमा हुनेछ । परियोजनाको बाँध क्षेत्र चुमनुब्री गाउँपालिकाको वडा नं ३ र विद्युत्गृह धार्चे गाउँपालिकाको वडा नं ३ मा हुनेछ । पावरहाउस भने भूमिगत हुनेछ ।
आयोजनामा तीन सय ९८ मिटर लामो हेड (पानी खस्ने उचाइ), ६.९ किलोमिटर लामो सुरुङ, ५६.८ मेगावाट क्षमताको ६ टर्बाइन हुनेछ । ड्याममा १७ लाख ६० हजार घनमिटर पानी भण्डारण हुनेछ । त्यसबाट दैनिक ६ घण्टासम्म पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सकिनेछ । आयोजनाबाट वार्षिक औसत १८६७.७७ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । कम्पनीका अनुसार मुख्य सुक्खायाममा ३२०.३० गिगावाट, सामान्य सुक्खायाममा २४३.४३ मेगावाट र वर्षा याममा १३०४.०४ गिगावाट विद्युत् उत्पादन छ । आयोजनाको डिजाइन डिस्चार्ज १००.२५ घनमिटर प्रतिसेकेन्ड छ ।
सहजीकरण गर्छौँ : अर्थ र ऊर्जामन्त्री
कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रले यति ठुलो परियोजना अघि बढाउनु र त्यसमा लगानी जुट्नुले नेपालमा लगानीको वातावरण छ भन्ने देखाएको बताए । निजी क्षेत्रको ठुलो परियोजनामा वित्तीय व्यवस्थापन हुनु महŒवपूर्ण र जलविद्युत् क्षेत्रकै लागि कोसेढुंगा साबित हुने उनले बताए । उनले आयोजना अघि बढाउने सन्दर्भमा सहजीकरण गर्न तथा कुनै पनि कठिनाइमा साथ दिन सरकार तयार रहेको बताए ।
ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री दीपक खड्काले तीन सय ४१ मेगावाटको अर्धजलाशययुक्त आयोजना अघि बढ्नुले नेपालको निजी क्षेत्रको क्षमता अभिवृद्धि भएको देखाएको बताए । ‘निजी क्षेत्रलाई पहिला सानो आयोजना बनाउन पनि गाह्रो थियो, अहिले यति ठुला–ठुला आयोजना बनाउन सक्ने भएका छन्, यो स्वागतयोग्य छ,’ उनले भने ।
नीतिगत सुधारका लागि सुझाव
स्वतन्त्र ऊर्जा उत्पादकहरूको समूह (इप्पान)का अध्यक्ष गणेश कार्कीले यति ठुलो परियोजनामा वित्तीय व्यवस्थापन हुनु ऐतिहासिक भएको बताए । उनले ऊर्जा विकासमा निजी क्षेत्र अघि बढिसकेको उल्लेख गर्दै नीतिगत सुधार गर्न सरकारलाई आग्रह गरे ।
ऋण लगानी सम्झौतामा हस्ताक्षरपछि सिइओ पाण्डेले ८६ मेगावाटको आयोजनामा लगानी गरेर सफल भएको र अहिले तीन सय ४१ मेगावाटको आयोजनामा लगानी गर्न तयार भएको बताए । उनले राज्यले प्रसारणलाइनलगायत पूर्वाधार समयमै निर्माण गरेर आयोजनालाई सहयोग गर्नुपर्ने बताए ।
तोकिएकै समयमा निर्माण सक्छौँ : प्रवर्द्धक
परियोजनाका अध्यक्ष हिमप्रसाद पाठकले अहिले परियोजनाको पूर्वतयारीका काम भइरहेको उनले जानकारी दिए । ‘जग्गा खरिद सम्पन्न भएको छ, सडक मर्मत भइरहेको छ, बेलिब्रिज बनिसकेको छ,’ उनले भने, ‘परामर्शदाता छनोट भएर डिजाइन भइरहेको छ, डिजाइन सकएपछि निर्माणमा जानेछौँ ।’ आयोजनामा स्थानीयलाई रोजगारी दिन उच्च प्राथमिकता दिइने उनले बताए ।
त्यस्तै, कम्पनीका निर्देशक सुशील थापाले तोकिएको समयमै परियोजना बनाउन सकिने बताए । ‘निजी क्षेत्रले ठुला आकारका परियोजना बनाउन सुरु गरिसकेका छन् । हामीसँग पनि ८६ मेगावाटको जलविद्युत् परियोजना बनाएको पहिलाकै अनुभव छ । त्यो अवस्थामा यो परियोजना समयमै बनाउन सकिन्छ,’ उनले बताए ।