विद्युत् व्यापारबाट नेपालले कमायो साढे चार अर्ब

काठमाडौं, २३ साउन । आर्थिक वर्ष ०८१/८२ मा नेपालले साढे १७ अर्बको विद्युत् निर्यात गर्दा १३ अर्ब आयात गरेकाे छ । नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/८२ को अन्तर्राष्ट्रिय व्यापारको तथ्यांकले विद्युतकाे आयातभन्दा निर्यात बढी भएको देखिएको हो । गत आवमा प्राधिकरणले नेपालबाट १७ अर्ब ४५ करोड ९९ लाख रुपैयाँबराबरको बिजुली निर्यात गरेको छ । भारत र बंगलादेशमा गरेर प्राधिकरणले सोबराबरको बिजुली निर्यात गरेको हो ।
प्राधिरकणबाट प्राप्त तथ्यांकअनुसार भारतमा १७ अर्ब १९ करोड ३२ लाख रुपैयाँ र बंगलादेशमा २६ करोड ६७ लाख रुपैयाँबराबरको विद्युत् निर्यात भएको छ । गत आवमा नेपालले १२ अर्ब ९२ करोड ३१ लाख रुपैयाँबराबरको विद्युत् आयात भएको छ । नेपालले विद्युतकाे आयात भारतबाट मात्रै गर्दै आएको छ । समग्रमा नेपालको विद्युत् व्यापार चार अर्ब ५३ करोड ६८ लाख रुपैयाँले नाफामा देखिएको हो ।
विद्युत् व्यापार दुई वर्षदेखि नाफामा
वैदेशिक विद्युत् व्यापारमा नेपाल अघिल्लो आव ०८०/८१ देखि खुद निर्यातकर्ता बनेको छ । अघिल्लो आव ०८०/८१ मा नेपालले १३ करोड रुपैयाँको खुद विद्युत् निर्यात गरेको थियो । उक्त आवमा १६ अर्ब ९२ करोडको विद्युत् आयात हुँदा १७ अर्ब ६ करोड रुपैयाँको निर्यात थियो । त्यसअघिका आवहरूमा भने विद्युत् व्यापारमा नेपाल खुद आयातकर्ता थियो ।
नेपालले भारतको इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा १ मे ०२१ मा प्रवेश पाएको थियो । भारतको उक्त मार्केटमा प्रवेश पाउने नेपाल पहिलो दक्षिण एसियाली मुलुक हो । हाल नेपालले भारतको मिडियम टर्म, डे अहेड र रियल टाइम मार्केटमा विद्युत् बिक्री गर्दै आएको छ । अहिले भारतमा नौ सय ४१ मेगावाट विद्युत् निर्यात गर्ने अनुमति छ ।
यस्तै, गत आवदेखि प्राधिकरणले बंगलादेशमा पनि विद्युत् निर्यात गर्न सुरु गरेको छ । बर्खामा ४० मेगावाट विद्युत् बंगलादेश निर्यात हुने गर्छ । ३० कात्तिक ०८१ मा नेपालले बंगलादेशमा विद्युत् निर्यात गर्न थालेको थियो ।