नेपाल र श्रीलंकाका राष्ट्रिय चेम्बरबिच सहकार्य

काठमाडौं, २३ साउन । नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (एनएससिसिआई) र नेसनल चेम्बर अफ एक्सपोर्ट, श्रीलंका (एनसिइएस)बिच व्यापार, लगानी, संयुक्त उद्यमलगायतका विषयमा सहकार्य गर्ने गरी हस्ताक्षर भएको छ ।
नेपालका लागि श्रीलंकाका एक्टिङ एम्बासडर चाल्स डी अफेयर्स (एआई) चमेरा मुनासिंघेको भर्चुअल उपस्थितिमा एनएससिसिआईका महासचिव नरेन्द्रबल्लभ पन्त र एनसिइएसका महासचिव तथा प्रमुख कार्यकारी अधिकृत एम सिहम मारिकरले हस्ताक्षर गरेका हुन् । यो सम्झौता ऐतिहासिक भएको भन्दै मुनासिंघेले आगामी दिनमा दुई मुलुकबिच व्यावसायिक गतिविधि बढ्ने धारणा राखिन् ।
सम्झौतापत्रमा हस्ताक्षरपछि दुई संस्थाका सदस्यहरू एक–अर्काको मुलुकमा व्यक्तिगत एवं सामूहिक भ्रमण गर्न सक्नेछन् । त्यसरी गरिने भ्रमणले स्थानीय र राष्ट्रिय आर्थिक गतिविधि बढाउनुका साथै दुई देशसँग सम्बन्धित बजारसँग सम्बन्धित तथ्यांक, आर्थिक विकास पहल, विदेशी व्यापार र लगानी नीतिमा नियमित रूपमा छलफल हुने बताइएको छ ।
साथै व्यापार, लगानी, सेवा, व्यापारिक सम्बन्ध, भ्रमण र व्यावसायिक समूहहरूको आदानप्रदानका साथै व्यापार प्रवद्र्धनका सम्भाव्य गन्तव्यबारे थप छलफल गरिने सम्झौतामा उल्लेख छ ।