राष्ट्र बैंकले खुकुलो बनायो विदेशी मुद्राको सटही

काठमाडौं, २३ साउन । विदेशी मुद्रा सञ्चिति थुप्रिँदै जान थालेपछि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सटही व्यवस्था खुकुलो बनाएको छ । केन्द्रीय बैंकका अनुसार जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २५ खर्ब ६९ अर्ब रुपैयाँबराबर छ । यो सञ्चिति ऐतिहासिक रूपमै उच्च हो ।
नेपाल राष्ट्र बैंकले बिहीबार परिपत्र जारी गर्र्दै विदेशी मुद्रा सटहीको व्यवस्थालाई थप खुकुलो बनाएको हो । अब भारतबाहेकका मुलुकबाट कुनै पनि संस्थाले सफ्टवेयर तालिमजस्ता सेवा आयात गर्दा आठ हजार अमेरिकी डलरसम्मको भुक्तानी गर्नुपरेमा नियामक निकायको सिफारिस आवश्यक नपर्ने भएको छ । हालसम्म पाँच हजार डलरसम्मका लागि सिफारिस नचाहिने व्यवस्था छ ।
त्यस्तै, कम्पनीको लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको निर्णयलगायतका कागजात जुटाएका आधारमा एकपटकमा १५ हजार अमेरिकी डलरसम्म वाणिज्य बैंकबाट नै सटही पाइने व्यवस्था गरिएको छ । हालसम्म यो लिमिट १२ हजार डलरमा सीमित थियो ।
केन्द्रीय बैंकले वायुसेवा सञ्चालकलाई आठ हजार अमेरिकी डलर वा पाँच लाख भारतीय रुपैयाँसम्मको सेवा आयात गर्दा नियामक निकायको सिफारिस नचाहिने व्यवस्था गरिएको छ । हाल एक लाख डलरसम्मको आयातमा नियामक निकायको सिफारिस अनिवार्य व्यवस्था छ । अब नियामक निकायको सिफारिस नचाहिने गरी न्यूनतम सीमा कायम गरिएको हो ।
नेपाली नागरिकलाई प्राविधिक शिक्षाका लागि विदेशी संस्थामा भुक्तानी गर्न वर्षमा पाँच हजार अमेरिकी डलरसम्म भुक्तानी हुने गरी विदेशी मुद्रा सटही दिन सकिने व्यवस्था गरिएको छ । हालसम्म एक हजार पाँच सय अमेरिकी डलरभन्दा बढीको सटही दिन नपाइने व्यवस्था थियो । अब प्राविधिक शिक्षा, व्यावसायिक तालिम तथा अनलाइनमार्फत अध्ययन गर्ने प्रयोजनका लागि पाँच हजार अमेरिकी डलरसम्मको सटही सुविधा पाइने भएको हो ।
विदेशमा पढ्न जानुअघि दिइने परीक्षाका लागि १५ हजार डलरसम्मको सटही सुविधा पाइने भएको छ । विदेशी संस्थाले नेपालमा सञ्चालन गर्ने भाषा परीक्षा वा मानकीकृत परीक्षण टोफेल, आइएलटिएस, पिटिई, जिआरई, जिम्याट र स्याटजस्ता सेवा आयात नेपाली संस्थाले गर्दा सोबापतको भुक्तानीका लागि प्रतिपटक अमेरिकी डलर १५ हजारसम्मको सटही सुविधा वाणिज्य बैंकले दिन सक्ने भएको छ ।