गाजामा ६० दिने युद्धविराममा हमास सहमत, इजरायल मौन

काठमाडाैं, ४ भदाै । गाजामा जारी युद्धबीच हमासले क्षेत्रीय मध्यस्थकर्ताहरूले अघि सारेको नयाँ प्रस्तावमा सहमति जनाउँदै ६० दिनको प्रारम्भिक युद्धविराममा राजी भएको छ। बीबीसीका अनुसार, यो प्रस्तावअन्तर्गत बाँकी रहेका ५० इजरायली बन्धकमध्ये करिब आधा—जसमा जीवित रहेको अनुमान गरिएका २० जना छन्—दुई चरणमा मुक्त गरिनेछ। साथै स्थायी युद्धविरामबारे थप वार्ता गर्ने सहमति पनि समावेश छ।
यो प्रस्ताव यसै वर्षको सुरूमा अमेरिकाले तयार पारेको खाकामा आधारित रहेको र इजिप्ट तथा इजरायलले त्यसलाई परिमार्जन गरेर अघि सारेको जनाइएको छ। तर, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको अघिल्लो धारणा भने स्पष्ट छ— “सबै बन्धक एकैपटक मुक्त नगरी कुनै सम्झौता सम्भव छैन।” ताजा प्रस्तावबारे भने इजरायली पक्षले अझै आधिकारिक प्रतिक्रिया दिएको छैन।
युद्धविरामको सम्भावना बीच, इजरायली सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल ईयाल जामिरले युद्ध २२ महिनाको निर्णायक मोडमा पुगेको दाबी गर्दै गाजा सहरमा हमासविरुद्ध आक्रमण अझै तीव्र पारेको बताएका छन्। प्रत्यक्षदर्शीका अनुसार, इजरायली ट्याङ्कहरू तोप र हवाई आक्रमणको साथ दक्षिणी साबरा क्षेत्रमा प्रवेश गरेर सयौं विस्थापित नागरिक रहेका संयुक्त राष्ट्रसंघीय विद्यालय र क्लिनिकलाई घेराबन्दी गरेका छन्।
यसैबीच, इजरायली मन्त्री परिषद्ले गाजा सहर कब्जा गर्ने सेनाको योजना छिट्टै स्वीकृत गर्ने अपेक्षा गरिएको छ। नेतन्याहुले गत महिना हमाससँगको अप्रत्यक्ष वार्ता असफल भएपछि गाजाभरि आक्रमण विस्तार गर्ने घोषणा गरेका थिए।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले इजिप्टका विदेशमन्त्रीसँग कायरोमा भेट गरी “दुवै पक्षलाई सहमतिमा ल्याउन अधिकतम दबाब दिएको” बताएका छन्। उनले रफाह नाकाबाट दिएको अभिव्यक्तिमा गाजाको मानवीय संकट “कल्पनाभन्दा बाहिर” पुगेको भन्दै तत्काल युद्धविराम अपरिहार्य भएको चेतावनी दिए।
हमासले सोमबार साँझ बिना कुनै संशोधन लिखित रूपमा प्रस्ताव स्वीकृत गरेको जनाएको छ। तर नेतन्याहुले भने युद्ध केवल त्यतिबेला मात्र समाप्त हुने स्पष्ट पारेका छन् जब—सबै बन्धक मुक्त हुनेछन्, हमासले हतियार त्याग्नेछ, गाजा पूर्ण रूपमा निरस्त्रीकरण हुनेछ र नयाँ प्रशासन प्यालेस्टिनी प्राधिकरण वा हमाससँग सम्बन्धविहीन हुनेछ।
हमासको माग भने फरक छ—प्यालेस्टिनी बन्दीहरूको मुक्तिसँगै युद्धको अन्त्य, इजरायली सेनाको पूर्ण फिर्ता र स्वतन्त्र प्यालेस्टिनी राष्ट्रको सुनिश्चितता। उक्त राष्ट्रको घोषणा बिना आफूले हतियार नत्याग्ने समूहले दोहोर्याएको छ।
सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा दक्षिण इजरायलमा गरिएको आक्रमणपछि सुरु भएको यो युद्धमा करिब १,२०० मानिस मारिएका थिए र २५१ जना अपहरणमा परेका थिए। त्यसयता गाजामा इजरायली सैन्य कारबाही जारी छ।
हमास–नियन्त्रित गाजा स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म कम्तीमा ६२,००४ जना मारिइसकेका छन्। ९० प्रतिशतभन्दा बढी घरहरू ध्वस्त छन्, खानेपानी, स्वास्थ्य र सरसफाइ प्रणाली पूर्ण रूपमा नष्ट भएका छन्। खाद्य संकटले भोकमरीको अवस्था सिर्जना गरेको छ, जसलाई अन्तर्राष्ट्रिय निकायहरूले “सबैभन्दा खराब मानवीय संकट” को रूपमा चित्रण गरेका छन्।
पछिल्ला २४ घण्टामा मात्र कुपोषणका कारण थप ५ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ, जसमा २ बालबालिका पनि छन्। युद्ध सुरु भएदेखि हालसम्म कुपोषणका कारण २६३ गाजावासीको मृत्यु भइसकेको पुष्टि गरिएको छ।