कवाडी व्यवसायीको महानगर कार्यालय घेराउ, दमनविरुद्ध आन्दोलन

काठमाडाैं, ९ भदाै । विगत दुई वर्षदेखि काठमाडौँ महानगरपालिकाले आफ्नो व्यवसायमाथि निरन्तर दमन गरेको भन्दै कवाडी व्यवसायीहरूले आज महानगरपालिकाको कार्यालय घेराउ गर्ने घोषणा गरेका छन्। कवाडी व्यवसायी समाज नेपालले जारी गरेको प्रेस विज्ञप्ति अनुसार महानगरले सञ्चालन गरेको ‘अन्यायपूर्ण ज्यादती’ विरुद्ध उनीहरूले आन्दोलनको सुरुवात गरेका हुन्।
आज साढे १२ बजे व्यवसायी तथा मजदुरहरूले महानगरपालिकाको कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरिएको छ। उनीहरूले महानगर प्रहरीले व्यवसायी तथा सङ्कलक मजदुरमाथि कुटपिट, सामान जफत, संरचना भत्काउने र शारीरिक तथा मानसिक चोट पुर्याउने जस्ता अमानवीय कार्य गरेको आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ, “महानगर प्रहरीले कुटपिट गर्दा कवाडी सङ्कलक र मजदुरको टाउको फुट्ने, अङ्गभङ्ग हुने र घोर मानसिक त्रास सिर्जना हुने घटना बारम्बार दोहोरिँदै आएको छ।”
व्यवसायीहरूले महानगर प्रमुख बालेन्द्र शाहले गरिब, श्रमिक र साना व्यवसायीलाई नियोजित रूपमा काठमाडौँबाट हटाउन खोजेको आरोप पनि लगाएका छन्। उनीहरूले व्यवसायी र मजदुरमाथि भइरहेको कुटपिट, अपहरण र संरचना भत्काउने कार्य तत्काल रोक्न, संलग्न महानगर प्रहरीमाथि कानुनी कारबाही गर्न र व्यवसायी–मजदुरको जिउधनको सुरक्षा सुनिश्चित गर्न सरकारको तत्काल हस्तक्षेप आवश्यक रहेको बताएका छन्।
काठमाडौँ महानगरपालिकाले अव्यवस्थित कवाडी संकलन केन्द्रहरू हटाउने अभियान चलाउँदै आएको छ। व्यवसायीहरूले आफूहरूले फोहोरलाई कच्चा पदार्थमा परिणत गरेर महानगरलाई सफा राख्न मद्दत गरिरहेको दाबी गरेका छन् भने महानगरले दर्ताविहीन र अव्यवस्थित व्यवसाय हटाउनु आफ्नो जिम्मेवारी भएको बताउँदै आएको छ।