नाडा अटो शो–२०२५: ४ हजार बढी गाडी बुकिङ, इलेक्ट्रिक सवारीमा रेकर्ड आकर्षण

काठमाडाैं, ९ भदाै । सवारी साधनको सौन्दर्य र प्रविधिको उत्सव मानिने ‘नाडा अटो शो–२०२५’ आइतबार भव्य रुपमा सम्पन्न भएको छ। राजधानीको भृकुटीमण्डपमा आयोजना भएको १७औँ संस्करणको अटो शो ६ दिनसम्म चलेर दर्शक र सवारी बुकिङमा नयाँ रेकर्ड कायम गरेको छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भदौ ३ गतेदेखि आयोजना गरेको प्रदर्शनीमा १३५ स्टलमा ३० नयाँ सवारी मोडेल पहिलोपटक सार्वजनिक गरिएको थियो। शोमा १ लाख ६० हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गरेका छन्।
यस वर्षको अटो शोमा ४ हजारभन्दा बढी सवारी बुकिङ भएका छन्, जुन गत वर्षको ३ हजार ८०० युनिटभन्दा बढी हो। इलेक्ट्रिक सवारीतर्फ विशेष आकर्षण देखिएको छ। बिवाइडीका गाडी सबैभन्दा बढी बुकिङ भएका छन्, साइमेक्स इन्कका अनुसार १ हजार ४०० युनिट बुकिङ भएको छ।
अन्य ब्रान्डहरूमा टाटा ८०० युनिट, नामी ८१२ युनिट, डिपल ६०७ युनिट, जिली ग्यालेक्सी १८७ युनिट, सेरेस १०३ युनिट, जिनपेङ १०२ युनिट र सिजी एक्सपेङ ७० युनिट बुकिङ भएका छन्।
दुईपांग्रे सवारीतर्फ पनि उत्साहजनक बुकिङ भएको छ। रोयल इनफिल्ड १६० युनिट र हिरो मोटोकर्प ६० युनिट बुकिङका साथ सर्वाधिक लोकप्रिय बनेको छ।
प्रदर्शनीले इलेक्ट्रिक सवारी र आधुनिक प्रविधि प्रति उपभोक्ताको बढ्दो चासो झल्काएको छ र आगामी दिनमा पर्यावरणमैत्री गाडीको बजार विस्तारमा महत्वपूर्ण संकेत दिएको छ।