बागमतीमा १० लाखभन्दा माथिका योजना टेन्डरमार्फत अघि बढाइने

काठमाडाैं, ९ भदाै । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशका १० लाख रुपैयाँभन्दा माथिका सबै योजना टेन्डर प्रक्रियाबाटै अघि बढाइने बताएका छन्।
निर्माण व्यवसायी सङ्घ मकवानपुरले सोमबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले उपभोक्ता समितिमार्फत हुने काममा विकृति बढेको र ‘लो बिडिङ’ बाध्यताले निर्माण व्यवसायीलाई कंगाल बनाइरहेको बताए। उनले समस्या समाधान गर्न ‘एभरेज बिडिङ’ अवधारणा लागू गर्ने र सार्वजनिक खरिद ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाइने बताए।
उनले राज्य सञ्चालनमा स्वार्थको द्वन्द्व अन्त्य गर्न आफ्नो स्वामित्वमा रहेको ‘बानियाँ निर्माण सेवा’ परिवारका सदस्यको नाममा नामसारी गरिसकेको र अब भ्रष्टाचारमुक्त बागमती प्रदेश निर्माणमा लाग्ने पनि स्पष्ट पारे।
मुख्यमन्त्री बानियाँले निर्माण व्यवसायीलाई कामको गुणस्तरमा सम्झौता नगर्न आग्रह गर्दै प्रविधिको प्रयोगले सबै काम पारदर्शी र गुणस्तरीय हुने दाबी गरे। उनले वार्षिक तीन अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनीको स्वार्थ नबाझिएर छोडेको र अब आम नागरिकको समस्या समाधानमा केन्द्रित हुने बताए।