“तीज : संस्कृतिसँगै अर्थतन्त्रलाई दिने ‘फेस्टिभ बुस्ट’”

काठमाडाैं, १० भदाै । घर–घरमा मादलको ताल, हातमा मेहन्दी र निधारमा सिन्दूरसहित महिलाहरूको उमंगले भरिएको तीज पर्व यस वर्ष पनि सांस्कृतिक मात्र नभई आर्थिक दृष्टिले महत्त्वपूर्ण ‘पिक सिजन’का रूपमा देखिएको छ । असार–साउनको व्यस्त कृषि कार्यपछि भदौमा मनाइने तीजले महिलाहरूलाई मात्र होइन, बजारलाई समेत चलायमान बनाएको छ ।
तीजसँगै सुन–चाँदी, कपडा, सौन्दर्य, संगीतदेखि सेवा क्षेत्रसम्मको कारोबारमा उल्लेखनीय वृद्धि भएको छ । नेपालमा करिब २२ हजार सुन व्यवसायी सक्रिय छन्, जसको लागि तीज प्रमुख सिजन मानिन्छ । यद्यपि, यस वर्ष सुनको मूल्य प्रतितोला २ लाख नजिक पुग्दा सुनको कारोबार घटेको भए पनि चाँदी, हीरा, मोती र कृत्रिम गहनाको व्यापारले बजारलाई चलायमान बनाएको छ । विशेषगरी चुरा–पोतेको कारोबार करोडौंमा पुगेको छ । अघिल्लो आर्थिक वर्षमा मात्र पोते आयात २९ करोड रुपैयाँ नाघेको सरकारी तथ्याङ्क छ । नेपालमै बनेका पोते बेलायत, अमेरिका, फ्रान्सजस्ता देशमा निर्यात हुँदै नेपाली हस्तकलाको सम्भावना देखिएको छ ।
कपडा बजार पनि तीजकै सिजनमा ५० प्रतिशतभन्दा बढी कारोबार हुने व्यवसायीहरू बताउँछन् । पहिले साडीमा मात्र सीमित प्रभाव भए पनि अहिले लेहङ्गा, कुर्ता–सुरुवाल र फ्यूजन फेसनले बजारमा नयाँ आकर्षण थपेको छ । तर, नेपालमा वार्षिक ८० करोड मिटर कपडाको माग रहे पनि उद्योगहरू नचल्दा आयातमै निर्भरता कायम छ ।
यस्तै, सौन्दर्य तथा पार्लर व्यवसायमा समेत तीजको विशेष प्रभाव देखिन्छ । मेकअप, फेशियल, हेयरड्रेसिङजस्ता सेवामा लगानी गर्ने महिलाहरूको संख्या बढ्दो छ । नेपालमा कस्मेटिक सामग्रीको वार्षिक कारोबार ३० अर्ब रुपैयाँसम्म पुगेको तथ्याङ्कले पनि यसको माग देखाउँछ ।
दर खाने दिनलाई दुग्ध व्यवसायीहरूले ‘पिक आवर’का रूपमा लिन्छन् । देशभर दैनिक ७२ लाख लिटर उत्पादन हुने दूधमध्ये राजधानीमै ५० प्रतिशतभन्दा बढी खपत हुने गरेको छ । यसबाहेक रोटी, मिठाई, फलफूल र ड्राई फ्रुटको माग पनि उच्च हुने गर्दछ ।
संगीत बजारमा तीज उत्तिकै महत्त्वपूर्ण बनेको छ । लोक तथा दोहोरी विधाका गायकगायिकाले हरेक वर्ष जस्तै यस वर्ष पनि सयौं गीत ल्याएका छन् । करिब ९ करोड रुपैयाँसम्म लगानी भएको अनुमान गरिएको तीज गीतहरूले युट्युब, स्टेज कार्यक्रम र विज्ञापनमार्फत कलाकार र व्यवसायीलाई ठूलो फाइदा पुर्याइरहेका छन् ।
तीजसँगै पूजा सामग्री, कलश, धागो, माटोका भाँडा, धूप, फलफूल आदिको माग पनि उल्लेख्य हुन्छ । यस अवसरमा पण्डित–पुरोहितहरूको व्यस्तता सेवा क्षेत्रमा आर्थिक सक्रियताको अर्को रूप बनेको छ ।
यसरी हेर्दा, तीज अब केवल सांस्कृतिक पर्व मात्र नभई नेपाली मौसमी अर्थतन्त्रलाई गति दिने इञ्जिनको रूपमा स्थापित हुँदै गएको देखिन्छ । संस्कृतिसँगै अर्थतन्त्रलाई समेत चलायमान बनाउने तीजले नेपाली बजारलाई विशेष ‘फेस्टिभ बुस्ट’ दिएको छ ।