Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

बुटिकहरुमा छैन् व्यापार, अनिवार्य बनिसक्यो अनलाइन मार्केटिङ

बुटिकहरुमा छैन् व्यापार, अनिवार्य बनिसक्यो अनलाइन मार्केटिङ

काठमाडौं, १० भदौ । बजारमा तीजको रौनक बढेपनि राजधानीका साडी पसल तथा बुटिकहरूमा चहलपहल न्यून छ । तीज भित्रिसक्दा पनि पसलहरुमा चहलपहल कम हुँदा साडी पसल तथा बुटिक सञ्चालकहरू चिन्तित छन् ।

पछिल्लो समय तीजका लागि बजारमा पाइने रेडी–मेड ड्रेस र अनलाइन शपिङले बुटिकहरूको व्यापार खस्केको बुटिक सञ्चालकहरू बताउँछन् । बुटिकहरूमा विषेशत डिजाइनर कुर्ता, प्रिन्ट भएका साडी र मोडर्न लेहेंगाहरु एवम नेपाली परम्परागत पहिरनलाई आधुनिक शैलीमा ढालेर नयाँ डिजाइनर ड्रेस बनाइन्छ । तर बजारमा बढ्दो प्रतिस्पर्धा र अनलाइन पसलहरूको प्रभावले बुटिकहरू सञ्चालन गर्न गाह्रो भएको द दिभा फेसन बुटिककी सञ्चालक रोशनी बराइलीले बताइन् ।

‘यस वर्ष मार्केट अलि कम हुन्छ कि ? अनलाइन बिजनेसहरु बढी भएको कारणले मार्केट अलि डाउन डाउन नै छ,’ उनले भनिन् ।

बुटिकमा ब्लाउजदेखि कुर्था, लेहेंगा वा ब्लाउजका डिजाइन गरिन्छ । ह्यान्डवर्कमार्फत बुटिकका कपडाहरु तयार गरिने साथै बाहिरको रेडिमेड भन्दा गुणस्तरीय कपडा पाइने भएकाले ग्राहकहरुको रोजाइमा बुटिक पर्ने गरेको सञ्चालक बराइली बताउँछिन् ।

उनले भने, ‘बाहिरका पसलमा रेडीमेड कपडा पाइन्छ । त्यो मेसिनवर्क भयो । तर हामीले गर्ने भनेको कालीगढको सहायतामा हातले बनाउने हो । ह्यान्डवर्क गरेका पिसहरु हातले भरेर आकर्षक बनाउछौं । अनलाइनबाट विक्री गर्ने भनेको मेसिनले भरेका हुन् । त्यो अलि सस्तो हुन्छ । हामीले भरेकोमा अलिक बढी चार्ज लाग्छ ।’

होलसेल पसल र ठुला शोरुमहरुले नै रेडिमेड सामान बेच्दा आफूहरु मारमा परेको बराइलीको गुनासो छ । ‘शोरुमहरु जहाँबाट हामीले होलसेल सामान ल्याउँछौ उनीहरुले पनि मार्केट बिगारेछन् । उनीहरुले आफैं होलसेलमा रेडिमेड बेचिदिन्छन् । होलसेलले त बेच्न नमिल्ने होइन तर त्यसले मार्केट बिग्रेको छ,’ उनले भनिन्, ‘धेरैलाई गाह्रो बनाएको छ । हामीलाई मात्र होइन, धेरैलाई गाह्रो बनाएको छ ।’

यस्तै, २५ वर्षदेखि सञ्चालनमा रहेको सानिया बुटिकको पनि समस्या उस्तै छ । भदौँ लागेसँगै भ्याइनभ्याइ हुने कुनै समय अहिले सिजनमा पनि काम नआउँदा चिन्तित रहेको सानिया बुटिकका जावेद अन्सारी बताउँछन् । ‘पहिला त सामान्य चलिरहेको थियो, अहिले व्यापार छैन । तीजको बेलामा पनि काम आइरहेको छैन् । यसको एउटै कारण छ, रेडिमेडहरुको कारण हो । रेडिमेडहरु धेरै आइरहेका छन् र सस्तो मूल्यका छन् । त्यसले हामीलाई असर गरेको छ,’ उनले भने ।

सानियामा अहिले कुर्ताहरुको मात्र माग आइरहेको भन्दै चार–पाँच वर्ष पहिले तीज आउँदा दुई महिना अघि नै रातभरी काम गरेको अन्सारी सम्झिन्छन् । उनले भने, ‘चार–पाँच वर्षपछि हामी दुई महिनादेखि फुर्सदजस्तै छौं । हाम्रो अहिले कामै छैन । काम आएको छैन अहिलेसम्म ।’

अन्सारीले पछिल्लो समय धेरै बुटिकहरु बन्द भएको भन्दै अहिले टेलर मात्रै चलेको बताए । उनको सानिया बुटिकमा आजभोलि साडी भन्दा बढी कुर्ताहरुको माग बढेको छ । तीज जस्तो विशेष पर्वमा डिजाइनर कुर्ताको प्रयोग बढेको अन्सारी बताउँछन् । ‘अहिले कर्सेट कुर्ताहरु आइरहेको छ । अहिले कुर्ताहरुको रेट ४५ सयदेखि सुरु हुन्छ । हाम्रोमा सिलाइको तरिका फरक छ । फिनिसिङ राम्रो हुन्छ । ग्राहकहरु फिनिसिङको कामले खुशी हुन्छन्,’ उनले भने ।

अन्सारी बुटिकमा आएका ग्राहक प्राय सबै उस्तै हुने र राम्रो काम गर्दा जति भन्यो त्यति मूल्य तिर्ने पनि बताए ।

यस्तै, बराइलीले समय अनुसार चल्नैको लागि आफूले पनि अनलाइनमार्फत प्रचार सुरु गरेको बताइन् । उनले आफ्नो सामान जापान, अमेरिकालगायतका केही देशहरुमा समेत जाने भन्दै सामाजिक सञ्जालमा प्रचार गर्न सके काम गर्न सकिने बताइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *