Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

“नेप्सेमा उत्साहजनक फड्को : बजार पुँजीकरण ४६ खर्ब नाघ्यो”

“नेप्सेमा उत्साहजनक फड्को : बजार पुँजीकरण ४६ खर्ब नाघ्यो”

काठमाडाैं, १० भदाै । गत आर्थिक वर्ष २०८१/८२ मा नेपाली सेयर बजारले उल्लेख्य वृद्धि हासिल गरेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कअनुसार नेप्से सूचकाङ्कदेखि बजार पुँजीकरणसम्म सबै प्रमुख सूचकमा सकारात्मक सुधार देखिएको हो ।

तथ्यांकअनुसार अघिल्लो वर्ष असार मसान्तमा २२४०.४१ विन्दुमा रहेको नेप्से सूचकाङ्क गत वर्षको अन्त्यसम्म आइपुग्दा २७९४.७९ विन्दुमा पुगेको छ । यससँगै धितोपत्र बजार पुँजीकरण पनि ३५ खर्ब ५३ अर्ब ६८ करोडबाट बढेर ४६ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ ।

यो कुल गार्हस्थ उत्पादन (जिडिपी) को ७६.२५ प्रतिशत बराबर हो । अघिल्लो वर्ष यस अनुपात ६२.२५ प्रतिशत मात्र थियो । यसरी १४ प्रतिशत अंकको वृद्धिले सेयर बजारले अर्थतन्त्रमा लिएको स्थान अझ बलियो बनाएको देखिन्छ ।

क्षेत्रगत वर्चस्व

धितोपत्र बजारमा अझै पनि बैंक तथा वित्तीय क्षेत्रको प्रभावशाली उपस्थिति छ । हाल नेप्सेमा सूचीकृत कम्पनी २७२ पुगेका छन्, जसमा १३२ वटा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी हुन् । यस क्षेत्रको हिस्सा कुल ५४.१ प्रतिशत रहेको छ । गत वर्षमात्रै ५९ करोड ४२ लाख ७६ हजार कित्ता सेयर किनबेच भई ४ खर्ब ८७ अर्ब ७८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंक तथा वित्तीय क्षेत्रपछि सबैभन्दा ठूलो योगदान जलविद्युत कम्पनीहरूको रहेको छ । नेप्सेमा सूचीकृत ९१ हाइड्रो कम्पनीहरूको बजार हिस्सा १५.३ प्रतिशत छ । लगानीकर्ताको आकर्षण बढ्दै गएको यो क्षेत्रमा गत वर्ष २ अर्ब ६ करोड ४६ लाख कित्ता सेयर खरिदबिक्री भई ८ खर्ब २२ अर्ब ९९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सरकारी प्राथमिकता, लगानी विस्तार र उत्पादन क्षमतामा वृद्धिका कारण यस क्षेत्रमा लगानीकर्ताको विश्वास उच्च देखिएको हो ।

यस्तै, लगानी समूहका ७ कम्पनीको योगदान ७.७ प्रतिशत छ भने उत्पादन तथा प्रशोधन उद्योग समूहका २३ कम्पनीको हिस्सा ५.४ प्रतिशत छ । गत वर्ष यस क्षेत्रमा मात्रै १ खर्ब ६३ अर्ब ६६ करोड रुपैयाँ बराबरको कारोबार भएको तथ्यांक छ ।

व्यापार समूहका ४ कम्पनीले ५ प्रतिशत र होटल समूहका ७ कम्पनीले २.७ प्रतिशत बजार हिस्सा ओगटेका छन् । बाँकी अन्य समूहको संयुक्त योगदान ९.८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

यसरी हेर्दा, गत वर्ष नेप्से सूचकाङ्कको उछाल, बजार पुँजीकरणको उच्च वृद्धि र विभिन्न क्षेत्रमा देखिएको लगानीकर्ताको आकर्षणले नेपाली सेयर बजारमा पुनः आशा जगाएको छ । बैंक तथा वित्तीय क्षेत्रको वर्चस्व कायम भए पनि हाइड्रोपावर र उत्पादन क्षेत्रप्रति बढ्दो रुचिले बजारको विविधिकरणमा नयाँ सम्भावना देखिएको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *