“भियतनामकी उपराष्ट्रपति ३ दिने औपचारिक भ्रमणपछि फर्किइन्”

काठमाडाैं, १० भदाै । सोसियलिस्ट रिपब्लिक अफ भियतनामकी उपराष्ट्रपति वो थि अन्ह जुआनले नेपालमा तीन दिने औपचारिक भ्रमण सकाएर मंगलबार मध्यरात आफ्नै देश फर्किएको छ।
उहाँको भ्रमण नेपालका उपराष्ट्रपति राम सहाय प्रसाद यादवको हार्दिक निमन्त्रणामा सम्पन्न भएको थियो। भद्र प्रसाद पाण्डे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री र परराष्ट्र सचिव अमृत बहादुर राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको VVIP लाउन्जमा उपराष्ट्रपति जुआनलाई बिदाइ गरेका थिए।
नेपाल भ्रमणको क्रममा भियतनामकी उपराष्ट्रपति जुआनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटघाट गरेका थिए। साथै, उपराष्ट्रपति यादव र जुआनबीच प्रतिनिधिमण्डलीय स्तरको द्विपक्षीय वार्ता भएको थियो। उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री डा. अर्जु राना देवूसँग पनि भेटवार्ता गरेका थिए ।
यो नेपालको लागि भियतनामबाट पहिलो उच्चस्तरीय भेटघाट हो। यस वर्ष नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औं वार्षिकोत्सव पनि परेको विशेष वर्ष हो।