नेपालगंज भन्सार चेक पोष्ट निमार्ण १३ बर्ष सम्म अलपत्र
काठ्माण्डौँ, १८ भदौ । १३ वर्ष अघि निर्माण गर्ने सम्झौता गरिएको नेपालगंजको जमुनाहा स्थित भन्सार कार्यालयको एकिकृत चेकपोष्ट अहिलेसम्म निर्माण शुरु भएको छैन । भारतले बनाउने भनेको यो केन्द्र नबन्दा सेवाग्राहीहरु पुरानै ढाँचामा काम गर्न बाध्य छन् ।
नेपालगंजस्थित भन्सार कार्यालय प्रदेश ५, ६ र ७ को समेत प्रमुख व्यापारिक नाका हो । उक्त केन्द्रमा सेवाग्राहीले विभिन्न किसिमका झन्झट व्यहोर्ने गरेको गुनासो आएपछि नेपाल भारत दुवै देशले एकिकृत चेकपोष्ट निर्माण गर्ने सम्भौता गरेका थिए । तर, सम्झौता भएको १३ वर्ष वितिसिक्दा समेत भारतले नेपालतर्फ चेकपोष्ट बनाएको छैन ।
नेपाल र भारतबिच सन् २००५ मा भएको सम्झौता अनुसार जमुनाहा स्थित भन्सार कार्यालय मात्र हैन, विराटनगर, वीरगन्ज, भैरहवाको समेत भारतले दुवैतर्फ आईसीपी अर्थात संयुक्त भन्सार चेकपोस्ट निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौता पत्रमा सबै खर्च भारतले व्यहोर्ने र नेपाल पक्षले आवश्यक जमिन उपलब्ध गराउने सहमति भएको सम्झौतामा उल्लेख छ । त्यही सम्झौता अनुसार नेपालले चेकपोष्ट लागि १०० विगाहा जमिन खरिद समेत गरेको तर, निर्माण भने हुन नसकेको नेपालगंज भंसार कार्यालयले जनाएको छ । आधुनिक प्रविधियुक्त र डिजिटल बन्ने संयुक्त चेकपोष्ट निर्माण समयमा नहुँदा उद्योगी, व्यापारी र समग्र नेपालगन्जवासीलाई समेत अहिले नोक्सानी भैरहेको नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सुवासप्रसाद श्रेष्ठको भनाई छ ।
सयुक्त चेकपोष्ट निर्माण गर्न जग्गा खरिद भएर पनि भारतले निर्माण नगरिदिदाँ अहिले यो जमिन गौचरण रुपमा परिणत भईरहेको छ । भारतको रुपैडिया तर्फ पनि करिब ८९ बिगहा जमिन अधिकरण गरिएको छ । त्यसमा भारततर्फको पर्खाल निर्माण भएको छ भने नेपाल तर्फ भने काम समेत शुरु हुन सकेको छैन् ।