आईफोन १७ सिरिज सेप्टेम्बरमा लन्च, मूल्य र डिजाइनमा नयाँ सुधार

काठमाडाैं, १२ भदाैं । एप्पलको बहुप्रतिक्षित आईफोन १७ सिरिज आगामी सेप्टेम्बर ९ मा सार्वजनिक हुने भएको छ । कम्पनीले क्यालिफोर्नियास्थित एप्पल पार्कमा विशेष कार्यक्रम आयोजना गर्ने घोषणा गरिसकेको छ, जसमा नयाँ आईफोन १७ र एप्पल वाचका नयाँ संस्करणहरू समेत सार्वजनिक हुने अनुमान गरिएको छ ।
एप्पलले २०१२ यता प्रत्येक सेप्टेम्बरमा नयाँ आईफोन लन्च गर्दै आएको परम्परा अनुसार यसपटक पनि आईफोन १७ सिरिज सार्वजनिक हुने देखिएको छ । गत वर्ष २०२४ मा सेप्टेम्बर ९ मा आईफोन १६ र २०२३ मा सेप्टेम्बर १२ मा आईफोन १५ लन्च गरिएको थियो ।
नयाँ मोडलको विवरण
आईफोन १७ सिरिजमा ए१९ चिप प्रयोग हुने अनुमान छ भने प्रो मोडेलमा ए१९ प्रो चिपसेट समावेश हुने बताइएको छ । सबै मोडल पातलो र आकर्षक डिजाइनमा आउने सम्भावना छ, जसलाई धेरैले म्याकबुक एयर जस्तो स्लिम आईफोन भनेर पनि अनुमान गरेका छन्।
- आईफोन १७ र प्रो : ६.३ इन्च डिस्प्ले
- आईफोन १७ एयर : ६.५ इन्च
- आईफोन १७ प्रो म्याक्स : ६.९ इन्च
आईफोन १७ सिरिजको मूल्य आईफोन १६ सिरिजको तुलनामा करिब ५० अमेरिकी डलर (७ हजार रुपैयाँ) महँगो हुने अनुमान छ । कम्पनीले नयाँ प्रोसेसर, उन्नत क्यामेरा र लामो ब्याट्री जीवन जस्ता सुधारहरू ल्याउने अपेक्षा गरिएको छ । प्रो मोडेलमा ठूलो स्क्रिन, टाइटानियम संरचना र थप शक्तिशाली प्रविधि रहने सम्भावना छ ।
उत्पादन र मूल्यमा चुनौती
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उच्च कर नीतिले आईफोन १७ को मूल्य र उत्पादन रणनीतिमा प्रभाव पार्ने देखिन्छ । चीनबाट आयात हुने सामग्रीमा ट्यारिफ लागेपछि एप्पलले उत्पादन भारततर्फ सार्न सुरु गरेको छ । भारतमा श्रम लागत कम भए पनि नयाँ आपूर्ति श्रृंखला र प्रविधि स्थापनाका कारण उत्पादन लागत बढेको छ ।
हालसम्म भारतमा स्मार्टफोनहरूलाई दोब्बर ट्यारिफबाट छुट दिइएको भए पनि दीर्घकालमा यसले मूल्यमा प्रभाव पार्न सक्ने विश्लेषकहरू बताउँछन् । एप्पलले आगामी वर्षहरूमा अमेरिकी बजारका लागि आफ्नै देशभित्र चिप्स उत्पादनमा करिब ६०० अर्ब डलर लगानी गर्ने घोषणा गरिसकेको छ, जसले भविष्यमा मूल्य नियन्त्रणमा सहयोग गर्ने अपेक्षा छ ।
विश्लेषकहरूले नयाँ आईफोन प्रयोगकर्ताको ध्यान कसरी तान्छ भन्नेमा गम्भीर रहेकाले कम्पनीले रणनीति अनुसार सुधार ल्याउने अनुमान गरिएको छ, विशेषगरी आईफोन मिनीको असफलता र आईफोन १६ प्लसको न्यून बिक्रीलाई ध्यानमा राखेर ।