Date

बिहि, कार्तिक ६, २०८२
Thu, October 23, 2025

‘सिस्टममै आधारित सुधार’: कृषि विकास बैंकको नाफा झण्डै ६ अर्ब

‘सिस्टममै आधारित सुधार’: कृषि विकास बैंकको नाफा झण्डै ६ अर्ब

काठमाडाैं, १५ भदाै । कुनै समय सबैभन्दा बढी निष्क्रिय कर्जा बोकेको भनेर आलोचित कृषि विकास बैंक अहिले भने कर्जाको गुणस्तर सुधार गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ।

सरकारी स्वामित्वको यो बैंकले ‘रियल टाइम क्रेडिट इन्फर्मेसन सिस्टम’ जडान गर्दै कर्जा असुली व्यवस्थापनलाई पूर्णतया प्रणालीमै आधारित बनाएको छ। यसले दैनिक रूपमा सम्पूर्ण शाखाहरूको कर्जाको विवरण, वर्गीकरण र असुलीको अवस्था रिपोर्टिङ गर्ने भएकाले गुणस्तर नियन्त्रण सजिलो भएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोविन्द गुरुङले बताए।

उनका अनुसार, विगतमा व्यक्तिको निर्णयमा निर्भर हुने कर्जा व्यवस्थापन अहिले सिस्टमले नै नियन्त्रण गर्ने बनेपछि निष्क्रिय कर्जा न्यून स्तरमा राख्न सम्भव भएको हो।

गत असार मसान्तमा बैंकको कुल कर्जा प्रवाह २ खर्ब २४ अर्ब रुपैयाँ पुगेको थियो। त्यस मध्ये ७ अर्ब ४ करोड निष्क्रिय कर्जा रहेको छ। तर अब बैंकले हरेक दिन वास्तविक अवस्थाको गणना गर्न सक्ने प्रणाली विकसित गरेको छ।

नाफामा ठूलो वृद्धि

गत आर्थिक वर्षमा बैंकले २ अर्ब ४५ करोड रुपैयाँ प्रोभिजन छुट्याउनुपर्ने बाध्यता थियो। तर यसपटक जम्मा १० करोड रुपैयाँ हाराहारी मात्र थप प्रोभिजन राख्नुपरेको छ। यसले गर्दा बैंकको नाफा एकाएक बढेर ५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ।

उठ्न बाँकी ब्याज पनि अघिल्लो वर्षको ३ अर्ब ८४ करोड बाट घटेर ३ अर्ब ३६ करोड रुपैयाँमा झरेको छ। यसले नयाँ र पुराना दुवै किसिमका ब्याज असुलीमा सुधार भएको संकेत गर्छ।

व्यवसायिक विविधिकरण र जनशक्ति व्यवस्थापन

सीइओ गुरुङका अनुसार, कर्जाको गुणस्तर सुधारसँगै व्यवसायिक विविधिकरण, मानव संसाधनको उचित उपयोग, नियमित अनुगमन, ऋणपत्र र प्रतितपत्र (एलसी) मा चासो जस्ता कामहरूले पनि बैंकको वित्तीय विवरण आकर्षक बनाउन ठूलो योगदान पुर्‍याएको छ।

गत वर्ष बैंकले १३ प्रतिशतले कर्जा विस्तार गरेकोमा यसवर्ष ८.५ प्रतिशत मात्र विस्तार गरेको छ। अहिले कुल कर्जा प्रवाह २ खर्ब २४ अर्ब २ करोड रुपैयाँ पुगेको छ।

संस्थागत क्षमताको उदाहरण

विगतमा कर्मचारी संख्या धेरै भएर पनि उपयोग नभएको भन्दै सरकारी स्वामित्वका बैंकहरू आलोचित हुने गरेका थिए। तर कृषि विकास बैंकले जनशक्ति व्यवस्थापनमा उचित प्रबन्ध र योग्य नेतृत्व प्रस्तुत गर्दै वित्तीय स्वास्थ्य छोटो अवधिमै सुधार्न सकिन्छ भन्ने ठोस उदाहरण देखाएको छ।

सीइओ गुरुङ भन्छन्– “अथक मेहनत र प्रणालीगत सुधारसहित नेतृत्वको सही दृष्टिकोण भए संस्थाको आर्थिक हालत रातारात सुध्रन सक्छ।”

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *