शर्माको प्रस्ताव : वैधानिक मार्गमै अन्तरिम सरकारको माग

काठमाडाैं, २६ भदाै । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले मुलुकमा उत्पन्न संकट समाधानका लागि वैधानिक बाटोमार्फत अघि बढ्नुपर्ने धारणा राखेका छन् । उनले संविधानको रक्षा हुन नसके सबै वैधानिकताको अन्त्य भई अराजकता चुलिने चेतावनी दिँदै अन्तरिम सरकारको खाँचो औंल्याएका हुन् ।
शर्माले जारी गरेको विज्ञप्तिमा असामान्य परिस्थितिमा पनि संविधानको आत्मा र आधारलाई टेकेर सबैलाई स्वीकार्य हुने गरी सरकार गठन गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार सामान्य अवस्थामा जस्तै संविधानका सबै धाराको अक्षरशः पालना सम्भव नहुन सक्छ, तर संघीय लोकतान्त्रिक गणतन्त्रलाई टिकाउन वैधानिक बाटो अटुट रहनैपर्ने छ ।
उनले संवैधानिक आधारविहीन सरकार बने सुरक्षा चुनौती थपिने, राज्यका सबै निकायहरूको वैधानिकता प्रश्नमा पर्ने र संकट झन जटिल हुने तर्क गरेका छन् । त्यसैले संविधान बाहिरको प्रयोग मुलुकका लागि घातक हुने उनको भनाइ छ ।
भ्रष्टाचारलाई मुल कारण ठहर गर्दै शर्माले शक्तिशाली स्वतन्त्र छानबिन आयोग गठन गरी दोषीलाई कठघरामा उभ्याउनुपर्ने माग गरेका छन् । हालको संकटको जिम्मेवार दुई-तिहाइको बहुमत दाबी गर्ने सरकारका दलका शीर्ष नेताहरू भएको आरोपसमेत उनले लगाएका छन् ।
शर्माले जेनेरेसन-जे (Gen Z) आन्दोलनलाई वैधानिकता सहितको राजनीतिक निकास दिनुपर्नेमा जोड दिँदै आन्दोलनमा सहादत प्राप्त भएकाप्रति श्रद्धाञ्जली र घाइतेहरूको स्वास्थ्य लाभको शुभकामना व्यक्त गरेका छन् । साथै, आन्दोलनमाथि गरिएको दमनलाई ‘नरसंहार’ भन्दै स्वतन्त्र छानबिन आयोगमार्फत दोषीलाई कारबाही गर्नुपर्ने उनले माग गरेका छन् ।
उनले भनेका छन्, “संविधानको रक्षा गर्न सकिएन भने राष्ट्र र राष्ट्रियता झन् संकटमा पर्छ । त्यसैले वैधानिक बाटोबाटै राजनीतिक निकास खोजौं।”