अविरल वर्षाका कारण कालीगण्डकी करिडोर अवरुद्ध

काठमाडाैं, २६ भदाै । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी करिडोर सडक अवरुद्ध भएको छ। गुल्मीखण्डअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ स्थित राक्से क्षेत्रमा सडक माथिबाट पहिरो खसेपछि गए रातिदेखि यातायात पूर्ण रूपमा अवरुद्ध बनेको हो।
प्रहरीले जानकारी दिएको अनुसार, प्रहरीचौकी पुर्तीघाटबाट टोली खटाएर सडक खुलाउने प्रयास गरिएको छ। तर लगातार वर्षाका कारण पहिरो पन्छाउन कठिनाइ भइरहेको छ।
सडक अवरुद्ध हुँदा पर्वत, बागलुङ, रिडी हुँदै पाल्पा र बुटवलसम्म आवजावत गर्ने सवारीसाधन सञ्चालनमा आउन सकेका छैनन्। वर्षा रोकिएसँगै स्थानीय निर्माण कम्पनी कालिका कन्ट्रक्सनले पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा राखेको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकरी गङ्गाबहादुर सारुले बताएअनुसार, उक्त सडकमा पहिरोले पटक–पटक अवरुद्ध हुने समस्या रहँदै आएको छ।