Date

आइत, मंसिर १४, २०८२
Sun, November 30, 2025

संसद विघटनः छोटो विजय, दीर्घकालीन हार

अहिले हामी एउटा कठिन परिस्थितिमा छौं । एकातिर नयाँ दिशा तय भैसकेको छैन । अर्कोतिर सडकमा रहेको कालो धुलो अझै सफा भएको छैन । युवाहरूको स्वर, जेन जी पुस्ताको हुंकार, अझै हावामा तरङ्गित छ । उनीहरूले भनेका छन्- ‘भ्रष्ट्रचार नियन्त्रण, सुशासन र स्वतन्त्रता नै युवा पुस्ताको प्रमुख चाहना हो ।’ उनीहरुको बल, एकता र आन्दोलनले संसार हल्लिएको छ । भ्रष्ट्राचारी अनि शाषकहरुको मन काँपेको छ । तर कताकता धमिरा डडाउन घर पनि जलेका छन् ।

आन्दोलनले ठोस नेतृत्व र स्पष्ट नीति नभएकाले कतै कतै अन्यौल, विवाद र अवसरवादीहरुको चलखेल पनि शुरु भएको देखिन्छ । तर अन्ततः प्रधानमन्त्री कसलाई बनाउन कुराको टुङ्गो लागेको छ । पुर्व प्रधानन्यायधिश शुशिला कार्की बनाउनेमा अब फरक मत रहेन । अबको मुलुकको मूल प्रश्न बनेको छ- संसद विघटन गर्ने कि निरन्तरता दिने ?

पहिलो दृष्टिमा संसद विघटन सरल समाधान जस्तो देखिन्छ । जेन जीको अर्को माग र समाजिक सञ्जालहरुमा बालेन लगायत धेरै युवाहरुको माग पनि यहि छ । पुरानो संरचना भत्काए पछि मात्र नयाँ बनाउन सजिलो हुन्छ भन्ने तर्क छ । यसो हुदा आन्दोलनको तातो उर्जा बोकेका युवाका लागि यो तुरुन्तै जितिएको जस्तो लाग्छ । तर इतिहास, कानुन र अन्तर्राष्ट्रिय अनुभवले भन्छ, “संसद विघटन केवल छोटो खुसी हो, त्यसपछि सुरु हुन्छ दीर्घकालीन पीडाको यात्रा ।”

भवन, वा काठ–ढुङ्गाले बनेको हल मात्र होईन । तर वस्तुतः संसद भनेको जनताको सार्वभौमसत्ताको प्रतिबिम्ब हो । यहाँ जनप्रतिनिधिहरू बस्छन्, जनताको आवाजलाई कानुनमा ढाल्छन् । यसलाई भत्काउनु भनेको केवल संरचना भत्काउनु होइन, जनताको स्वरलाई चुप लगाउनु हो । जनताको अधिकारलाई स्थगित गर्नु हो । त्यसैले संसद विघटन प्रारम्भमा क्रान्तिकारी देखिए पनि, वास्तवमा यो संस्थागत अधोगतिको ढोका खोल्ने काम हो । तर यिनै संसदले आफ्‌नो काम नगरिदिएकाले यो आन्दोलन गर्नु परेको कुरा सत्य हो । फेरि यिनलाई नि कसरी विश्वास गर्नु ? जेन जी को प्रश्न यहि बाझिन्छ ।

नेपालको संविधान धारा १ ले स्पष्ट भन्छ, सार्वभौमसत्ता जनतामा निहित हुन्छ । जनताले त्यो सार्वभौमसत्ताको अभ्यास आफ्ना प्रतिनिधि मार्फत गर्छन् । प्रतिनिधि नभएको संसद भनेको आवाजविहीन जनता हो । संसद विघटनले यो अधिकार स्थगित गर्छ । यसरी हेर्दा संसद भत्काउनु भनेको संविधानकै आत्मामा घात गर्नु हो । नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय कानुनले पनि यही कुरा पुष्टि गर्छ ।

नेपाल पक्षकार रहेको अन्तर्राष्ट्रिय नागरिक तथा राजनीतिक अधिकार सम्बन्धी महासन्धि (आइसिसिपिआर) ले नागरिकलाई आफ्ना प्रतिनिधि छान्ने र तिनीहरूलाई निरन्तर उत्तरदायी बनाउने अधिकार दिन्छ । संसद विघटन गर्दा यो अन्तर्राष्ट्रिय दायित्वमै प्रश्न उठ्छ । संसारभर लोकतान्त्रिक शासनलाई शान्ति, विकास र स्थायित्वको आधार मानिएको छ । संयुक्त राष्ट्रसंघकै ठूला प्रतिवेदनहरू भन्छन्, ‘स्थायी र उत्तरदायी संसद नै लोकतन्त्रको मेरुदण्ड हो ।’

नेपालको इतिहासले पनि यस्तै भन्छ । २०५९ सालमा राजा ज्ञानेन्द्रले संसद विघटन गर्दा सुरुवातमा जनताका केही वर्गलाई लाग्यो, अब सुधार हुन्छ । तर त्यसले झन् ठूलो अराजकता ल्यायो । अन्ततः जनआन्दोलन–२ को आँधी चल्यो र राजतन्त्र नै अन्त्य भयो । त्यही उदाहरणले देखाउँछ—संसद भत्काउनु आन्दोलनको सफलता जस्तो देखिन्छ तर अन्ततः अस्थिरता र अनपेक्षित परिणाम ल्याउँछ ।
श्रीलंकाको अनुभव पनि रोचक छ । २०२२ मा त्यहाँ जनता आर्थिक संकटले सडकमा उत्रिए । संसद विघटनको माग प्रवल रुपले उठ्यो । तर अन्ततः संसदलाई निरन्तरता दिइयो । त्यसकै कारण सुधारका नीति बनाइए, देश अलि अलि गरेर संकटबाट बाहिरिन थाल्यो ।

यदि संसद विघटन भएको भए, सम्भवतः सेना वा बाहिरी हस्तक्षेपले सत्ता कब्जा गर्ने थियो । थाइल्यान्डमा २००६ र २०१४ मा संसद विघटनपछि सेनाले सत्ता कब्जा गर्‍यो । सुरुवातमा भ्रष्टाचार अन्त्य हुन्छ, शासन सुधार हुन्छ भन्ने लाग्यो । तर परिणाम के भयो ? नागरिक अधिकार संकुचित भए, लोकतन्त्र क्षय भयो, आन्दोलन दबाइयो । जनताको लामो संघर्ष फेरि शून्यतामा फस्यो । यसरी हेर्दा संसद विघटन केवल भत्काउने काम होइन, देशलाई असुरक्षा र अस्थिरताको अँध्यारो गल्लीमा धकेल्ने निर्णय हो ।

त्यसो भए जेन जी को आन्दोलन कहाँ उभिन्छ ? यो आन्दोलनले देशमा एउटा नयाँ चेतना ल्याएको छ । उनीहरूको मागहरु पारदर्शिता, सामाजिक न्याय, डिजिटल स्वतन्त्रता, भ्रष्टाचार नियन्त्रण अदि सबै जायज छन् । उनीहरूले सडकमा बोलेका स्वरहरू आजको मुलुकको वास्तविक माग हुन् । तर यी माग पूरा गर्ने बाटो संसदकै माध्यम हो । संसद निरन्तरता रहेर सुधारको प्रक्रिया सुरु भए, सम्भावना खुल्छ । नीतिगत संशोधन गर्न सकिन्छ । पुराना दलहरूलाई दबाबमा राख्न सकिन्छ । नयाँ पुस्ताले आफूलाई प्रतिनिधित्व गर्ने ठाउँ बनाउन सक्छ । आन्दोलनले आफ्नो उर्जा संस्थागत परिवर्तनमा रूपान्तरण गर्न सक्छ । यसरी आन्दोलनको आक्रोश कानून र नीति बन्न सक्छ ।

तर संसद भत्कियो भने ? त्यसपछि सुरु हुन्छ शून्यता । त्यो शून्यतामा जनताको आवाज भन्दा ठूलो हतियार बोकेका शक्तिहरू हावी हुन्छन् । सेना, बाहिरी शक्ति वा अराजक समूह सक्रिय हुन्छन् । अहिले ३ दिनमा त अराजकहरु सलबलाएको महशुष गर्न सकिन्छ भने लामो समय के होला ? जनताको आन्दोलन सडकमै सीमित हुन्छ, परिणाम नभएर निराशा थपिन्छ ।

त्यसैले भन्न सकिन्छ, संसद विघटन जेन जीका लागि छोटो विजय होला । “हामीले पुरानो संरचना ढाल्यौं ।” भन्ने लाग्ला । तर त्यसपछि आउने रिक्तता उनीहरूको भविष्यलाई अझ अनिश्चित बनाउँछ । बरु संसद निरन्तरता रह्यो भने, उनीहरूको आन्दोलन नीति र कानूनमा अनुवाद हुन्छ, जुन दीर्घकालीन सफलता हो । बरु यसलाई अन्तरिम सदनको रुपमा स्थापित गरेर यसले पुरा गर्नुपर्ने दायित्वहरुको खाका बनाउनु उपयुक्त हुन्छ कि ?

देश अहिले अन्यौलमा छ । एकातिर क्रान्तिको आगो छ, अर्कोतिर अस्पष्ट बाटो । छोटो खुसीमा रमाउने कि दीर्घकालीन उपलब्धिको लागि धैर्य गर्ने ? इतिहास, संविधान र अन्तर्राष्ट्रिय अनुभवले एउटै उत्तर दिन्छ — संविधान र संसदलाई जोगाउनु नै मुलुकको भविष्य जोगाउनु हो । जेन जी ले सडकमा देखाएको ऊर्जा अब संसदको ढोकासम्म पुग्नुपर्छ । उनीहरूले आफ्नो मागलाई चिच्याउने मात्र होइन, कानुन बन्ने तहसम्म पुर्‍याउनुपर्छ । त्यसैले निरन्तर दबाब आवश्यक छ । आन्दोलनको वास्तविक सफलता भनेको संसद भत्काउनु होइन, संसदलाई सुधार र उत्तरदायी बनाउन सक्नु हो ।

छोटो विजयलाई ठूलो विजयमा बदल्ने बाटो यही हो । संसदलाई जोगाएर, सुधार गरेर, नयाँ पुस्ताको आवाजलाई संस्थागत गरेर मात्र देशलाई दीर्घकालीन भविष्य दिन सकिन्छ । संसद विघटनले ल्याउने खुसी वसन्त जस्तो क्षणिक मात्र हुन्छ, तर संसद निरन्तरता र सुधारले ल्याउने विजय चिरस्थायी हुन्छ ।

सडकमा ढुङ्गा हान्ने हातहरू, प्रहरीको आँसु ग्यासबाट रातो भएका आँखा, आक्रोशले काँपेका स्वरहरू । यी सबै दृश्य केवल आजको आन्दोलनको प्रतिविम्ब मात्र होइनन्, यो देशकै भविष्य लेख्ने कलम पनि हुन् । आन्दोलनले तातो रगत बगाउँछ, तर त्यो रगतलाई कानुनमा बदल्ने शक्ति संसदसँग मात्र हुन्छ । संसदलाई भत्काउनु भनेको आफ्नो लेखनको कापी च्यात्नु हो । पुरानो गल्ती मेटिया जस्तो लाग्छ । तर नयाँ कापी ल्याउन ढिलो हुन्छ, बीचैमा जीवनका सबै पाठहरू अधूरै रहन्छन् ।

बरु त्यही कापीलाई सच्याएर, गलत वाक्यलाई काटेर, नयाँ अक्षर थपेर अघि बढ्नु नै बुद्धिमानी हुन्छ । संसद विघटन छोटो विजय त हुन सक्छ, तर दीर्घकालीन हार हो । किनकि विजय भनेको केवल भत्काउने कुरा होइन, बनाउने कुरा हो । विजय भनेको केवल आक्रोशको विस्फोट होइन, त्यसलाई भविष्यको आकाशमा उज्यालो तारा बनाउनु हो । के यो आवाजलाई हामी कानुन र नीतिमा परिणत गर्नेछौं, कि फेरि एकपटक इतिहासको अँध्यारो गल्लीमा हराउनेछौं ? हामीले सोच्नु आवश्यक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *