Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

वैदेशिक लगानी प्रतिवद्धता १ सय १४ प्रतिशतले वृद्धि

वैदेशिक लगानी प्रतिवद्धता १ सय १४ प्रतिशतले वृद्धि

काठमाण्डौ, २० भदौ । उत्पादनमुलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता १ सय १४ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको असारसम्म ४ सय ९६ उद्योगका लागि ३ खर्ब ५० अर्ब ५८ करोड ८० लाख रुपैयाँको लगानीको प्रतिवद्धता आएको हो ।

पछिल्ला वर्षमा उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गएको सरकारी तथ्यांकले देखाएको छ । सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पूरा गर्न उद्योग क्षेत्रमा लगानी बढेको हो । संविधान निर्माण भएपछि नेपालमा लगानीको वातावरण सिर्जना भएको हो ।
उद्योग विभागका अनुसार गत आर्थिक वर्षको असारसम्म ४ सय ९६ उद्योगका लागि ३ खर्ब ५० अर्ब ५८ करोड ८० लाख रुपैयाँको लगानीको प्रतिवद्धता भएको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा ठूला, मझौला र विदेशी लगानीका साना उद्योगमा १ खर्ब ६३ अर्ब १७ करोड ४० लाख रुपैयाँको प्रतिवद्धता प्राप्त भएको उद्योग विभागले जनाएको छ । लगानी भएका क्षेत्रमध्ये ऊर्जामूलक क्षेत्रमा बढी लगानी रहेको छ । विभागका अनुसार ३७ जलविद्युत् उत्पादन केन्द्रका लागि झण्डै २ खर्ब ३३ अर्ब ९१ करोड ५० लाख रुपैयाँ लगानी भित्रिएको छ । १ सय ३० उत्पादनमूलक उद्योगमा ७७ अर्ब २६ करोड ४० लाख लगानी भित्रिएको छ । १ सय ५९ पर्यटन उद्योगमा २३ अर्ब ८५ करोड ५० लाख रुपैयाँको लगानी प्रतिवद्धता गरिएको छ । १ सय १४ सेवामूलक उद्योगमा ५ अर्ब १२ करोड ९० लाख, चार निर्माण उद्योगमा ४ अर्ब ७३ करोड १० लाख, २२ कृषि उद्योगमा २ अर्ब ५१ करोड ७७ लाख, चार खनिज उद्योगमा २ अर्ब ४२ करोड २२ लाख र २४ सूचना, प्रसारण तथा सञ्चार प्रविधिमा ७५ करोड ३० लाख लगानीको प्रतिवद्धता गरिएको छ ।

स्थिर सरकारका कारण मुलुकको पर्यटन क्षेत्रमा लगानी भित्रिँदै गएको छ । होटल र रेष्टुरेन्ट क्षेत्रमा भारत र चीनका व्यवसायीको लगानी बढी छ । विभागले १० करोडभन्दा कम लगानीका उद्योगलाई साना उद्योग, रु १० देखि २५ करोड रुपैयाँसम्म लगानी भएका उद्योगलाई मझौला र २५ करोड रुपैयाँभन्दा बढी लगानीका उद्योगलाई ठूला उद्योगका रुपमा दर्ता गर्दै आएको छ । विभागमा दर्ता भएका उद्योग मध्ये ७८ ठूला, ७६ मझौला तथा ३ सय ४२ विदेशी लगानीका साना उद्योग छन् । ठूला उद्योगका लागि ३ खर्ब २८ अर्ब ५२ करोड १७ लाख, मझौला उद्योगका लागि १४ अर्ब ९२ करोड २८ लाख र विदेशी लगानीका साना उद्योगका लागि ७ अर्ब १४ करोड ४२ लाख रुपैयाँको प्रतिवद्धता आएको विभागले जानकारी दिएको छ ।
चालू आर्थिक वर्षमा उद्योग क्षेत्रमा आएको प्रतिवद्धता पूरा भए २७ हजार ३ सय ३९ नेपालीले प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा रोजगारी पाउनेछन् । आव २०७३÷७४ मा ५ सय १० उद्योग खोल्नका लागि लगानी भित्रिएको थियो । ९७ ठूला, ८२ मझौला र ३ सय ३१ साना उद्योग खोल्नका लागि विभागमा दर्ता भएका थिए ।

स्वदेशी लगानीका साना तथा घरेलु उद्योग दर्ता साना तथा घरेलु उद्योग विभागमा र साना तथा घरेलु उद्योग विकास समितिमा दर्ता हुँदै आएको छ । ऐन, नीति, नियम परिमार्जन, विशेष आर्थिक क्षेत्र सेज ऐन, खनिज नीति, विदेशी लगानीसम्बन्धी विधेयक, लगानी सम्मेलन, अनलाइनमार्फत उद्योग दर्ता, उद्योग विभागभित्र विद्युतीय हस्ताक्षरका साथै संस्थागत सुधारका कारण उद्योग क्षेत्रमा लगानीको वातावरण बन्दै गएको विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x