Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

राजधानीबाट गाउँ फर्किनेको लहर तीव्र, २४ घण्टामा ४३ हजार बाहिरिए

राजधानीबाट गाउँ फर्किनेको लहर तीव्र, २४ घण्टामा ४३ हजार बाहिरिए

काठमाडाैं, ६ असाेज । दशैंको जमरा राख्ने चटारो सुरु हुनासाथ काठमाडौं उपत्यकाबाट गाउँ फर्किने यात्रुहरूको भीड तीव्र भएको छ। राजधानीका बसपार्कदेखि सडकसम्म यात्रुहरूको चहलपहल दिनप्रतिदिन बढ्दो छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मको २४ घण्टामा मात्रै करिब ४३ हजार यात्रु काठमाडौं छाडेर बाहिरिएका छन्। सोही अवधिमा करिब २८ हजार मानिस उपत्यका भित्रिएका छन्।

दशैं नजिकिँदै जाँदा कलेज, निजी कार्यालय र विद्यालयहरूमा घटस्थापनादेखि नै बिदा सुरु भएकाले गाउँ फर्किनेको संख्या बढेको हो। सरकारले दशैंको सार्वजनिक बिदा भने फूलपातीदेखि दिने व्यवस्था गरेको छ।

गत भदौ २३ र २४ गते राजधानीमा भएको जेनजी आन्दोलनपछि देखिएको सुरक्षाको चासो अहिले सामान्य बन्दै गएको छ। सुरक्षाको स्थिति सामान्य भएपछि दशैं मनाउन घर फर्किनेहरूको संख्या अझ बढ्ने अनुमान गरिएको छ।

हाल उपत्यकाका प्रमुख नाका र नयाँ बसपार्क क्षेत्र सामान्य अवस्थामा रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। तर नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोका कारण ४० घण्टासम्म सडक अवरुद्ध हुँदा केही समय सवारी चाप बढेको थियो। हाल सडक खुलिसकेको र आवागमन सहज बन्दै गएको ट्राफिक अधिकारीहरूको भनाइ छ।

दशैंको सुरुवातसँगै राजधानीको भीड बिस्तारै गाउँतर्फ सर्दैछ। टीकाको आशिष, आमा-बुबाको ममता र बाल्यकालका सम्झनालाई भेट्न लाखौं पाइलाहरू उपत्यकाबाट गाउँतर्फ अघि बढिरहेका छन्।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *