दसैँमा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको तयारी

काठमाडाैं, ९ असार । दसैँका लागि नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन गर्ने तयारी तीव्र बनाइएको छ। हाल सुरुङमार्ग परीक्षणको चरणमा रहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ।
आयोजनाका इन्जिनियर सञ्जय पन्थीका अनुसार आज सुरुङ अगाडि बलम्बुस्थित फ्लाइओभरको परीक्षण गरिएको छ। फ्लाइओभरको परीक्षण ४८ घण्टाभित्र पूरा हुने अपेक्षा गरिएको छ। उनले भने, “मुख्य सुरुङको परीक्षण सकिएको छ, अब फ्लाइओभरको परीक्षण भइरहेको छ। शनिबारसम्म परीक्षण पूरा हुनेछ।”
यद्यपि दसैँमा सुरुङमार्ग खोल्ने तयारी भए पनि परीक्षण जारी रहेकाले कहिलेबाट सवारी सञ्चालन हुने भन्ने विषयमा अझै टुङ्गो छैन। पन्थीले पश्चिमी पोर्टलमा केही समस्या रहेको र त्यसको समाधानका लागि काम भइरहेको जानकारी पनि दिएका छन्।
गत शनिबार यातायात व्यवसायीसँगको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले दसैँमा सुरुङ सञ्चालन गर्न निर्देशन दिएका थिए। सुरुङमार्ग सञ्चालनका लागि निर्माण कम्पनी र सरकारबीच छलफल पनि जारी छ।
दसैँमा काठमाडौँ बाहिरिने यात्रुबाहक सवारीका लागि मात्र यो सुरुङमार्ग निःशुल्क खुला गरिने जनाइएको छ।