भैरहवामा अलपत्र यात्रु चार्टर्ड उडानमार्फत आज काठमाडौं ल्याइँदै

काठमाडाैं, २० असाेज । लगातार भारी वर्षाका कारण सडक यातायात अवरुद्ध भएपछि भैरहवामा अलपत्र परेका यात्रुहरुलाई नेपाल वायुसेवा निगमको चार्टर्ड विमानमार्फत आज काठमाडौं ल्याइँदैछ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार दिउँसो करिब पौने ३ बजे निगमको चार्टर्ड उडानमार्फत यात्रुहरुलाई काठमाडौं पठाउने तयारी पूरा भएको छ।
यस उडानमा बिरामी, अध्ययन तथा रोजगारीका लागि विदेश जान टिकट लिइसकेका यात्रुहरू र विदेशी पर्यटकलाई प्राथमिकता दिइने भएको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीको आग्रहमा आइतबार नै उडान गराउने तयारी गरिएको भए पनि आवश्यक तयारी नपुगेकाले आजका लागि सारिएको थियो।
नेपाल वायुसेवा निगमको १५८ सिट क्षमताको जहाजमार्फत यात्रुहरुलाई भैरहवाबाट काठमाडौं ल्याइने बताइएको छ। सडक अवरुद्ध भएर दिनदिनभर यात्रामा फँसेकाहरूका लागि यस चार्टर्ड उडानले राहत दिएको यात्रुहरूले बताएका छन्।