अविरल वर्षाले देशका मुख्य राजमार्ग ठप्प, पहिरो र बाढीले यातायात ठप्प

काठमाडाैं, २० असाेज । शनिबार र आइतबार परेको अविरल वर्षापछि देशका प्रमुख राजमार्गहरू विभिन्न ठाउँमा अवरुद्ध भएका छन्। पहिरो खस्दा र खोलाले डाइभर्सन तथा पुल बगाउँदा यातायात पूर्ण रूपमा ठप्प भएको नेपाल प्रहरीले जनाएको छ।
प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरणअनुसार, कोशी प्रदेशमा कोशी राजमार्ग, सिद्धिचरण लोकपथ, मध्यपहाडी लोकमार्ग र मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्। संखुवासभाको भोटखोला गाउँपालिका–४ बरूणखोलामा कोशी राजमार्ग बन्द छ भने ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सीमामा भँडारे खोलामा सिद्धिचरण राजमार्ग रोकिएको छ। उदयपुरको कटारीमा पनि सो राजमार्ग असोज १८ गतेदेखि पूर्णरूपमा बन्द छ।
त्यस्तै, मेची राजमार्ग इलामको इलाम नगरपालिका–९ राजदुवाली लगायतका स्थानहरूमा अवरुद्ध छ। इलामकै फिक्कलमा मध्यपहाडी लोकमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ।
बागमती प्रदेशमा समेत ठूला सडक खण्डहरूमा आवागमन ठप्प छन्। रसुवाको गोसाइकुण्ड गाउँपालिकामा नेपाल–चीन नाका सञ्चालनमा छैन। पासाङल्हामु सडक खण्डका तीन ठाउँमा आवागमन बन्द छ भने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ ‘४ किलो’ भन्ने ठाउँमा पहिरो खस्दा तातोपानी जाने बाटो पूर्ण रूपमा रोकिएको छ।
सिन्धुलीको विपी राजमार्ग डाइभर्सन रोशी खोलाले बगाउँदा बन्द छ भने नेपालथोक नजिक पनि सडक प्रयोग गर्न नसकिने अवस्था छ।
कान्ती लोकपथ पनि भीमफेदी–८ वगुवा खोला नजिकै शनिबारदेखि अवरुद्ध छ, साथै कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक सिस्नेरी बजार नजिकै अवरुद्ध भएको छ।
यसैबीच, मदन भण्डारी राजमार्ग सिन्धुलीको मरिण–२ सिन्दुरेमा आंशिक रूपमा खुलेको छ भने अन्य राजमार्गहरूमा अझै मर्मत कार्य भइरहेको प्रहरीले जनाएको छ।
सिन्धुली, रसुवा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मकवानपुरका विभिन्न भागमा पनि पहिरो र बाढीका कारण यातायात अवरुद्ध छन्। प्रहरीले जोखिम यथावत् रहेकाले आवश्यक कामबाहेक यात्रामा ननिस्किन सर्वसाधारणलाई आग्रह गरेको छ।