युएईको भिजिट भिसा स्पोन्सर गर्न अब तलब अनिवार्य, के-के बने नयाँ नियम ?

काठमाडाैं, २० असोज । संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्नो भिसा प्रणालीमा व्यापक हेरफेर गरेकाे छ । आफ्नाे देशमा बसोबास गरिरहेका विदेशीहरूले आफन्त वा साथीलाई भेटघाट भिसामा स्पोन्सर गर्नका लागि न्यूनतम मासिक तलबको सीमा तोकेको हाे ।
फेडरल अथोरिटी फर आइडेन्टिटी, सिटिजनशिप, कस्टम्स एण्ड पोर्ट सेक्युरिटी (आईसिपी) द्वारा लागू गरिएको नयाँ नियमले अब स्पोन्सर गर्ने व्यक्तिको आम्दानी र आगन्तुकसँगको नातासम्बन्धका आधारमा भिसाको योग्यता निर्धारण गर्नेछ।
नयाँ नीतिका अनुसार, भिसा स्पोन्सर गर्नका लागि चाहिने न्यूनतम मासिक आम्दानीलाई तीन फरक श्रेणीमा विभाजन गरिएको छ-
पहिलो तहमा बुबा आमा, श्रीमान/श्रीमती, छोराछोरी रहेका छन् । उनीहरूलाई भिजिट भिसामार्फत यूएई ल्याउनका लागि मासिक न्यूनतम चार हजार यूएई दिराम तलब हुनुपर्नेछ ।
त्यस्तै दोस्रो र तेस्रो तहमा दाजुभाइ, दिदीबहिनी, हजुरबा, हजुरआमा, नाति–नातिनी, काका–काकी, मामा, फुपुहरूलाई भिजिट भिसामा ल्याउने प्रायोजकको मासिक ८ हजार दिराम तलब हुनुपर्नेछ । तर साथीहरू (नन–रिलेटिभ)लाई स्पोन्सर गर्नेको हकमा मासिक १५ हजार दिराम तलब हुनुपर्नेछ ।
आईसिपीका अनुसार यी नयाँ आय-आधारित मापदण्डहरूले स्पोन्सरको तर्फबाट वित्तीय जिम्मेवारी सुनिश्चित गर्ने र अध्यागमन प्रक्रियालाई थप पारदर्शी बनाउने उद्देश्य राखेका छन्।
बसाइको अवधिमा आगन्तुकहरूले सामान्यतया भिसाको प्रकार अनुसार ३० देखि ९० दिनसम्म युएईमा बस्न पाउनेछन्।
केही भिसाहरूमा दुई चरणमा बसाइको अवधि थप्ने विकल्प पनि हुन्छ । जस्तै, पहिलो म्याद थपमा ३० दिन र दोस्रो म्याद थपमा २० दिन । तर, यी म्याद थपहरू स्वतः लागू नभई स्वीकृति र थप शुल्कको अधीनमा हुनेछन्।
युएईको भिसा नीतिलाई विश्वव्यापी प्रतिभा र विशिष्ट क्षेत्रहरूमा आकर्षित गर्नका लागि चार नयाँ उद्देश्य-उन्मुख आगन्तुक भिसा कोटिहरू पनि सार्वजनिक गरिएको छ । जसमा, एआई विशेषज्ञ भिसा, जुन एआई क्षेत्रका पेशेवरहरूका लागि हाे ।
क्रुज टुरिजम भिसाः क्रुज जहाजका यात्रु तथा चालक दलका लागि बहु-प्रवेश विकल्पसहित।
कार्यक्रम भिसाः व्यापार, संस्कृति, शिक्षा वा खेलकुदका ठूला कार्यक्रमहरूमा सहभागी हुने व्यक्तिहरूका लागि।
मनोरञ्जन भिसाः व्यावसायिक मनोरञ्जन वा गेमिङ कार्यक्रमहरूमा संलग्नहरूका लागि।
आगन्तुक भिसा बाहेक, आईसिपीले मानवीय, पारिवारिक र व्यावसायिक निवास नियमहरूमा पनि संशोधन गरेको छ ।
मानवीय निवास अनुमति: युद्ध वा विपत्तिको सामना गरिरहेका देशका विदेशीहरूलाई एक वर्षको नवीकरणयोग्य निवास अनुमति अब बिना कुनै ग्यारेन्टर वा होस्ट जारी गर्न सकिनेछ।
विधवा र सम्बन्धविच्छेदितका लागि निवास: युएईका नागरिकका विधवा/सम्बन्धविच्छेदितहरूलाई एक वर्षको नवीकरणयोग्य निवास अनुमति।
व्यवसाय अन्वेषण भिसा: यो भिसाका लागि आवेदन दिनेहरूले अब आफ्नो योजनाबद्ध व्यवसायसँग सम्बन्धित बलियो वित्तीय वा युएईमा दर्ता भएको संस्था मार्फत सक्रिय व्यावसायिक संलग्नता प्रमाणित गर्नुपर्नेछ।
हालैको जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिपछि युएईले नेपाली नागरिकलाई भने भिजिट भिसा दिन कडाइ गरेको छ । जेनजी युवाको प्रदर्शनमा भड्किएको हिंसापछि थप कडाइ भएको गरिएको हो । नेपालबाट सबैभन्दा बढी भिजिट भिसामार्फत युएई जाने गरेका छन् । नेपालबाट भिजिट भिसामार्फत जाने र त्यहाँबाट अन्य देशमा घरेलु कामदारको रूपमा जाने गरेको पनि पाइएको छ ।