मनसुनको प्रहारपछि सडक पुनर्निर्माणमा १२ अर्बभन्दा बढी खर्च हुने अनुमान

काठमाडाैं, २२ असाेज । यो वर्ष असोज १८, १९ र २० गतेका साथै त्यसअघि भएका बाढीपहिरोका कारण क्षति पुगेका सडक तथा पुल संरचनाको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सन् २०२५ को मनसुनजन्य विपद्बाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक सडक, बेलिब्रिज र स्थायी पुलको पुनर्निर्माणका लागि मात्र १० अर्ब ६८ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको हो। यस्तै, गत वर्षका विपद्बाट क्षति पुगेका संरचना पुनर्निर्माणका लागि १ अर्ब ७० करोड रुपैयाँ अझै बाँकी रहेको मन्त्रालयले जनाएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले बाढीपहिरोबाट क्षति पुगेर अवरुद्ध भएका सडक सञ्चालनलाई उच्च प्राथमिकतामा राखिएको बताएका छन्। उनका अनुसार, अवरुद्ध सडकहरू छिट्टै सञ्चालनमा ल्याउन उपकरण र जनशक्ति परिचालन गरिएको छ र मन्त्रालयले नियमित अनुगमन गरिरहेको छ।
मन्त्रालयका तथ्यांकअनुसार, यस वर्षको मनसुनजन्य विपद्बाट सबैभन्दा बढी क्षति राजमार्गहरूमा पुगेको छ। मेची राजमार्गको पुनर्निर्माणका लागि मात्र डेढ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
त्यस्तै, कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति, नारायणघाट–मुग्लिङ लगायतका प्रमुख राजमार्गहरूको पुनर्निर्माणका लागि झण्डै ३ अर्ब ७७ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
मन्त्रालयका अनुसार, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणमा ४ अर्ब ५२ करोड रुपैयाँ खर्च हुने अनुमान छ भने नयाँ बेलिब्रिज निर्माणका लागि ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
यस्तै, क्षति पुगेका वैकल्पिक सडकहरू पुनर्निर्माणका लागि १ अर्ब ५९ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ।
सरकारले यी पुनर्निर्माण कार्यहरूलाई आगामी केही महिनाभित्र चरणबद्ध रूपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ।