‘जेनजी आन्दोलन’पछि पर्यटनमा ठप्पपन, सेप्टेम्बरमा विदेशी आगमन १८ प्रतिशतले घट्यो
काठमाडाैं, २२ असाेज । गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि नेपाल भित्रिने विदेशी पर्यटकको संख्या उल्लेखनीय रूपमा घटेको छ। नेपाल पर्यटन बोर्डको ताजा तथ्यांकअनुसार सन् २०२५ को सेप्टेम्बर महिनामा ७८ हजार ७११ विदेशी पर्यटक मात्र नेपाल आएका छन्।
यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा १८.३ प्रतिशतले कम हो। सन् २०२४ को सेप्टेम्बरमा ९६ हजार ३०२ विदेशी पर्यटक नेपाल आएका थिए।
सामान्यतया सेप्टेम्बर महिना नेपालमा पर्यटक आगमनका लागि ‘पिक सिजन’ मानिँदै आएको भए पनि यस वर्ष उल्टै आगमन घटेको छ। बोर्डका अनुसार, यो गिरावट जेनजी आन्दोलनपछि देशको राजनीतिक र सुरक्षात्मक वातावरणमा देखिएको अनिश्चितताका कारण भएको मानिन्छ।
तथ्यांकअनुसार, भारतबाट १५ हजार ५५६ पर्यटक नेपाल आएका छन् भने चीनबाट पाँच हजार २३७, अमेरिकाबाट नौ हजार ६७९, श्रीलङ्काबाट तीन हजार १५, र बङ्गलादेशबाट दुई हजार २३० पर्यटकले नेपाल भ्रमण गरेका छन्।
यसअघि, सन् २०२५ को जुलाइमा ७० हजार र अगस्टमा ८८ हजार ६८० विदेशी पर्यटक नेपाल आएका थिए। तर सेप्टेम्बरमा पर्यटक आगमन घट्दा पर्यटन व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।
पर्यटन बोर्डका अधिकारीहरूले यो गिरावटलाई अस्थायी प्रभावको रूपमा लिँदै आगामी असोज र कात्तिक महिनामा विदेशी आगमन पुनः वृद्धि हुने अपेक्षा व्यक्त गरेका छन्।
तर, पर्यटन विज्ञहरूले भने, “राजनीतिक अस्थिरता र नकारात्मक प्रचारले नेपालको पर्यटन छविमा असर परिरहेको” भन्दै स्थायित्व र विश्वास पुनःस्थापना गर्न सरकारलाई सक्रिय भूमिका खेल्न सुझाव दिएका छन्।



