‘कालो सुन’ सस्तो हुँदै, अलैँचीको मूल्य घट्दा किसान निराश

काठमाडाैं, २२ असाेज । पूर्वी नेपालका किसानहरू यो वर्ष बाढी–पहिरो मात्र होइन, बजार मूल्यको गिरावटले पनि दोहोरो मारमा परेका छन्। देशको प्रमुख नगदे बालीमध्ये पर्ने अलैँची (कालो सुन) को मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेको छ।
गत वर्ष यही समयमा प्रतिमन (४० किलो) अलैँचीको मूल्य ९० हजार रुपैयाँ रहेकोमा, यो वर्ष मूल्य घटेर ८० हजार रुपैयाँमा झरेको छ। बजारमा हाल राम्रो ग्रेडिङ भएको अलैँची ८२ हजार रुपैयाँमा, र ग्रेडिङ नभएको अलैँची ८० हजार रुपैयाँमा कारोबार भइरहेको व्यापारीहरूले बताएका छन्।
एक दशक अघिदेखि नै ओरालो लाग्दै आएको अलैँचीको मूल्यमा गत वर्ष केही सुधार आएको थियो। तर यस वर्ष पुनः गिरावट देखिएपछि किसानहरू निराश बनेका छन्। गत वर्ष केही समय अलैँचीको मूल्य प्रतिमन १ लाख १० हजार रुपैयाँसम्म पुगेको थियो।
पूर्वी पहाडी जिल्लाहरू — सङ्खुवासभा, पाँचथर, ताप्लेजुङ, इलाम र धनकुटा — अलैँची उत्पादनका प्रमुख क्षेत्र हुन्। यी क्षेत्रमा उत्पादन हुने अलैँचीमध्ये ९५ प्रतिशतभन्दा बढी विदेशी बजारमा निर्यात हुने किसानहरूको अनुमान छ।
तर, बजार विस्तारमा सुधार नआएको कारण अलैँचीको मूल्य स्थिर रहन नसकेको किसानहरूको गुनासो छ। उत्पादन बढे पनि माग समान गतिमा नबढ्दा मूल्य घटेको उनीहरूको भनाइ छ।
नेपालमा व्यवसायीहरूले अलैँचीलाई तीन ग्रेडमा वर्गीकरण गरेर बेच्ने गर्छन्। गुणस्तरका आधारमा हुने यही वर्गीकरणले मूल्य निर्धारणमा ठूलो भूमिका खेल्ने गर्छ।