जेनजी आन्दोलन– सम्पत्ति बीमामा सर्वाधिक दाबी, कुन शीर्षकमा कति ?

काठमाडौं, २४ असोज। जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कूल बीमा दाबी रकम करिब २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ । उक्त रकम बराबरको ३ हजार ९९ वटा बीमा दाबी परेको हो ।
आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि २ हजार ७१० वटा दाबीका लागि सर्भेयर खटाइएको थियो । सर्भेयरहरूले हालसम्ममा ३७४ को सङ्ख्यामा सर्भे प्रतिवेदन पेश गरेका छन् ।
कूल बीमा दाबीमध्ये सम्पत्ति बीमातर्फ ६५३ वटा दाबी परेको र दाबी रकम करिब १९ अर्ब ६ करोड ७६ लाख रहेको छ । सम्पत्ति बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी बीमकहरूले करिब १ अर्ब ३२ करोड ७२ लाख दाबी भुक्तानी गरिसकेका छन् ।
सम्पत्ति बीमा दाबीको मूल्याङ्कन एवम् अनुगमनका लागि ५९८ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट हालसम्ममा ५२ वटा सर्भे रिपोर्ट प्राप्त भएको निर्जीवन बीमकहरूले जानकारी दिएका छन् ।
यसैगरी, मोटर बीमामा २ हजार २०६ वटा दाबी परेको छ । बीमा कम्पनीहरूमा दाबी रकम करिब ३ अर्ब ४१ करोड ६ लाख रहेको छ । बीमकहरूबाट मोटर बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब २४ करोड ९१ लाख भुक्तानी भएको छ ।
आन्दोलनका क्रममा मोटरहरूमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १ हजार ९३९ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूले हालसम्ममा ३१४ को सङ्ख्यामा सर्भे प्रतिवेदन बुझाएको जानकारी बीमकहरूले दिएका छन् ।
यस्तै, इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमातर्फ १९० वटा दाबी परेको र दाबी रकम करिब ३८ करोड ३ लाख रहेको छ । बीमकहरूले इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमामा हालसम्ममा अग्रिम भुक्तानी समेत गरी करिब ८७ लाख दाबी भुक्तानी गरेका छन् ।
आन्दोलनका क्रममा इञ्जिनीयरिङ तथा ठेक्कामा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि १२६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइसकिएको र सर्भेयरहरूबाट हालसम्ममा ५ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी बीमकहरूले दिएका छन् ।
परिवहन बीमातर्फ बीमा दाबी १२ वटा र दाबी रकम करिब १ करोड ६३ लाख रहेको छ । परिवहनमा भएको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि बीमकहरूले ११ वटा दाबीका लागि बीमा सर्भेयर खटाएका छन् ।
अन्य बीमातर्फ बीमा दाबी ३८ वटा परी दाबी रकम करिब ३५ करोड ३७ लाख रहेकोमा हालसम्ममा करिब ५ लाख ५० हजार दाबी भुक्तानी भएको जानकारी प्राप्त भएको छ ।
अन्य बीमातर्फको क्षतिको मूल्याङ्कन एवम् अनुगमनका लागि ३६ वटा दाबीका लागि बीमा सर्भेयर खटाइएको र सर्भेयरहरूबाट ३ वटा सर्भे प्रतिवेदन प्राप्त भएको जानकारी निर्जीवन बीमा कम्पनीहरूले दिएका छन् ।
नेपाल बीमा प्राधिकरणले बीमितहरूको हित संरक्षणलाई प्रमुख प्राथमिकतामा राखी बीमा दाबी प्रक्रियालाई छरितो, पारदर्शी र प्रभावकारी बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।