बक्यौता नतिरेपछि छ उद्योगको बिजुली काटियो, घिसिङको कडाइ सुरु

काठमाडाैं, ४ कार्तिक । उर्जामन्त्री बनेलगत्तै कठोर निर्णय लिन थालेका कुलमान घिसिङले लोडसेडिङको समयमा डेडिकेटेड र ट्रंक लाइनमार्फत बिजुली प्रयोग गर्ने उद्योगहरूबाट बक्यौता रकम असुली अभियानलाई तीव्र पारेका छन्।
नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुँदै उर्जामन्त्री बनेका घिसिङको पहिलो निर्णय नै ती उद्योगहरूबाट बक्यौता उठाउने थियो। सो निर्णयअनुसार उद्योगीहरूलाई एक महिनाभित्र पहिलो किस्ता बुझाउन आग्रह गरिएको थियो।
तर तोकिएको समयसीमा मङ्गलवार सकिएपछि नेपाल विद्युत् प्राधिकरणले ६ ठूला उद्योगको बिजुली आपूर्ति बन्द गरेको छ। काटिएका उद्योगहरूमा जगदम्बा स्टिल, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्स रहेका छन्।
प्राधिकरणका अनुसार यी उद्योगहरूले तिर्न बाँकी रकममध्ये जगदम्बा स्टिलले १ अर्ब ६० करोड, शिवम् सिमेन्टले ७७ करोड ८८ लाख, अर्घाखाँची सिमेन्टले ४४ करोड ८४ लाख, घोराही सिमेन्टले ५० करोड ८५ लाख, र त्रिवेणी स्पिनिङ मिल्सले ३२ करोड १० लाख रुपैयाँ बक्यौता तिर्न बाँकी राखेका छन्।
उद्योगीहरूले भने बिलिङ प्रक्रियामै त्रुटि रहेको भन्दै सरकारसँग राहतको माग गरिरहेका छन्। उनीहरूले गत साता प्रधानमन्त्री शुसिला कार्कीलाई भेटेर समस्या राख्न खोजे पनि प्रधानमन्त्रीले ‘मन्त्रालयमै समाधान खोज्नू’ भन्दै पन्छिएकी थिइन्।
यसबीच, नेपाल विद्युत् प्राधिकरणले तिहारको सार्वजनिक बिदामा समेत बक्यौता रकम बुझाउन सक्ने गरी विशेष काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ।
घिसिङको यो कदमले लामो समयदेखि थाती रहेको रकम उठाउने प्रक्रिया कडाइका साथ अघि बढेको सन्देश दिएको विद्युत् प्राधिकरणका अधिकारीहरू बताउँछन्।