Date

मङ्ल, कार्तिक ४, २०८२
Tue, October 21, 2025

जेनजी आन्दोलनले बीमा क्षेत्रमा २३ अर्बको दाबी, भुक्तानी अझै सुस्त

जेनजी आन्दोलनले बीमा क्षेत्रमा २३ अर्बको दाबी, भुक्तानी अझै सुस्त

काठमाडाैं, ४ कार्तिक । गत भदौ २३ र २४ गते देशभर फैलिएको जेनजी आन्दोलनले केवल सडकमा मात्रै होइन, बीमा क्षेत्रमा पनि गहिरो घाउ छोडेको छ। आन्दोलनका क्रममा सयौं सवारीसाधन जले, भवनहरू ध्वस्त भए र अरबौं मूल्यका सार्वजनिक तथा निजी सम्पत्तिहरू खरानी बने। अहिले त्यही क्षतिको असर बीमा कम्पनीका फाइल र दावी फारामहरूमा देखिन थालेको छ।

नेपाल बीमा प्राधिकरणका पछिल्ला तथ्याङ्क अनुसार हालसम्म जेनजी आन्दोलनका कारण ३ हजार ६३ वटा बीमा दावी दर्ता भएका छन्, जसको कुल मूल्य २३ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरको छ। तीमध्ये बीमा कम्पनीहरूले हालसम्म १ अर्ब ९५ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरिसकेका छन्।

सबैभन्दा ठूलो दावी मोटर बीमा अन्तर्गत परेको छ। आन्दोलनका क्रममा २२ सय ५६ वटा सवारीसाधनमा क्षति पुगेको र तीव्र रूपमा दावी दर्ता भइरहेको प्राधिकरणले जनाएको छ। निजी सवारीसाधनको क्षतिको दाबी मात्र ३ अर्ब ४४ करोड ९५ लाख रुपैयाँ बराबरको छ। तर, कम्पनीहरूले हालसम्म ३६ करोड २५ लाख रुपैयाँ मात्र अग्रिम भुक्तानी गरेका छन्।

त्यसपछि ठूलो क्षति सम्पत्ति बीमामा परेको छ, जसअन्तर्गत १९ अर्ब ७१ लाख रुपैयाँ बराबरका ६७३ वटा दावी पेश भएका छन्। तर हालसम्म कम्पनीहरूले १ अर्ब ५५ करोड १७ लाख रुपैयाँ मात्र भुक्तानी दिएका छन्।

यस्तै, इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमामा ३३ करोड १८ लाख, परिवहन बीमामा १ करोड ६३ लाख, र अन्य बीमामा ३८ करोड ८६ लाख रुपैयाँ बराबरको दावी परेको बीमा प्राधिकरणले जनाएको छ।

बीमा कम्पनीहरूले भने आवश्यक कागजात र मूल्याङ्कन पूरा भएका दावीमा तुरुन्तै भुक्तानी दिइरहेको दाबी गरेका छन्। यद्यपि, प्राधिकरणका अधिकारीहरूका अनुसार दावी भुक्तानीको दर अझै सुस्त छ र आगामी दिनमा दावी संख्या थप बढ्ने अनुमान गरिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *