काठमाडाैं, ४ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनका तयारी र सम्बन्धित विषयमा परामर्श गर्न सात वटा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई आज बालुवाटारमा छलफलका लागि आह्वान गरेकी छन्।
प्रधानमन्त्रीको कार्यालयका अनुसार बैठक आज दिउँसो ४ बजे बस्नेछ। सो बैठक फागुन २१ गते तय भएको निर्वाचनका तयारीका विषयमा केन्द्रित हुने जनाइएको छ।
प्रधानमन्त्री कार्कीले राष्ट्रिय मान्यता प्राप्त प्रत्येक दलबाट दुई–दुई जना प्रतिनिधि पठाउन औपचारिक पत्रमार्फत आग्रह गरेकी छन्। छलफलमा सहभागी हुनका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (उपेन्द्र यादव समूह) र जनमत पार्टीलाई आमन्त्रित गरिएको छ।
प्रधानमन्त्री कार्यालयका एक अधिकारीका अनुसार, बैठकमा निर्वाचनको सुरक्षासम्बन्धी तयारी, निर्वाचन आयोगसँगको समन्वय, र आवश्यक कानुनी तथा प्रशासनिक व्यवस्थाबारे पनि विचारविमर्श हुनेछ।
स्रोतका भनाइमा, “प्रधानमन्त्रीले सबै दलबीच सहमति र विश्वासको वातावरण बनाएर निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न चाहनुहुन्छ।”
सात दलको यो संयुक्त बैठक आगामी निर्वाचनका एजेन्डा र साझा प्रतिबद्धताबारे एक महत्वपूर्ण राजनीतिक सन्देश दिने अपेक्षा गरिएको छ।