Date

आइत, कार्तिक ९, २०८२
Sun, October 26, 2025

बैंकिङ प्रणालीमा सात खर्बबढी रूपैयाँ फर्किएपछि ९० अर्ब खिच्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीमा सात खर्बबढी रूपैयाँ फर्किएपछि ९० अर्ब खिच्दै राष्ट्र बैंक

काठमाडौं, ९ कार्तिक । बैंकहरूले राष्ट्र बैंकमा राखेको मध्ये तिहारअघि सात खर्ब रूपैयाँ बैंकहरूमै फर्किए आइतबार ९० अर्ब खिच्ने भएको छ।

राष्ट्र बैंकले ४२ दिनको लागि बैंकिङ प्रणालीबाट ९० अर्ब रूपैयाँ तान्न लागेको हो।

राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत बैंकहरूमा कर्जा लगानी गरेर उब्रिएको यस्तो रकम तान्ने गर्छ। त्यस्तै, पुँजी कम हुँदा बैंकहरूको प्रणालीमा पैसाको प्रवाह बढाउने गर्छ।

निक्षेप संकलन र स्थायी निक्षेप सुविधा जस्ता वित्तीय उपकरण मार्फत विभिन्न अवधिको लागि राष्ट्र बैंकले बैंकहरूबाट पैसा तान्ने गर्छ।

एक वर्षभन्दा लामो समयदेखि बैंकहरूमा पैसा थुप्रिएको छ। पैसा थुप्रिए पनि त्यही अनुसार बैंकहरूले कर्जा लगानी बढाउन नसक्दा राष्ट्र बैंकले उब्रिएको रकम तानिरहेको हो।

राष्ट्र बैंकको तथ्यांक अनुसार गत असोज ३० गतेसम्म बैंकहरूले यसरी राखेको रकम सात खर्ब ४९ करोड रूपैयाँ छ। कात्तिक २ गते सम्ममा भने यसरी राखेको सात खर्ब ४९ करोड रूपैयाँ अवधि सकिएर बैंकमै फिर्ता भएको थियो।

तर, कर्जा लगानी बढ्न नसक्दा फेरि पनि राष्ट्र बैंकले पैसा खिचिरहेको हो। अहिले बैंकिङ प्रणालीमा १० खर्ब ७६ अर्ब हाराहारी रकम (तरलता) रहेको छ।

गत असोज २९ गतेसम्म बैंकहरूको निक्षेप ७४ खर्ब ५५ अर्ब र कर्जा लगानी ५६ खर्ब ३३ अर्ब रूपैयाँ रहेको राष्ट्र बैंकको वेबसाइटमा उल्लेख छ।

केही समय अघि बैंकहरूले यसरी राष्ट्र बैंकमा राख्न थालेको रकम घट्दै दुई खर्ब ३३ अर्बमा सीमित हुन थालेको थियो। सोभन्दा अघि पनि यस्तो रकम चार खर्बसम्म पुगेको थियो।

यस्तो रकम अहिले भने सात खर्ब नाघेकोले बैंकहरूमा अहिले धेरै रकम भित्रिरहेको तर त्यही अनुसार कर्जा लगानी नभइरहेको यसले संकेत गर्छ।

कर्जा लगानी जति कम भयो यसरी राखिने रकम बढ्दै जान्छ भने जति बढ्दै गयो, यसरी राखिने रकम त्यति नै कम हुँदै जान्छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *