Date

मङ्ल, कार्तिक ११, २०८२
Tue, October 28, 2025

एक वर्षमै सवा अर्ब कारोबार: स्वस्तिक फ्लोर मिलको उत्कर्ष

एक वर्षमै सवा अर्ब कारोबार: स्वस्तिक फ्लोर मिलको उत्कर्ष

काठमाडाैं, ११ कार्तिक । सुनसरीस्थित स्वस्तिक फ्लोर मिल प्रालि ले व्यवसाय सुरु गरेको करिब एक वर्षमै उल्लेखनीय सफलता हासिल गरेको छ। स्थापना भएको छोटो अवधिमै कम्पनीले सवा अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्न सफल भएको हो।

सन् २०२३ को सेप्टेम्बरबाट व्यावसायिक उत्पादन सुरु गरेको स्वस्तिकले गत आर्थिक वर्षमा १ अर्ब २९ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। यो अघिल्लो वर्षको ८२ करोड ४० लाख रुपैयाँको कारोबारभन्दा करिब ५७.२८ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ।

सन् २०२१ मा दर्ता भएको स्वस्तिक फ्लोर मिलले गहुँ प्रशोधन गरी मैदा, आँटा, सुजी र चोकर उत्पादन गर्दै नेपाली बजारमा वितरण गर्दै आएको छ। कम्पनीले आफ्ना उत्पादनहरू १ केजीदेखि ५० केजीसम्मका प्याकेजमा उपलब्ध गराइरहेको छ।

उद्योगले हाल वार्षिक ६ हजार ६ सय मेट्रिक टन क्षमताको मैदा मिल सञ्चालन गरिरहेको छ। यस्तै, सुजी उत्पादन क्षमता २ सय ४० मेट्रिक टन र आँटा उत्पादन क्षमता ३ हजार १ सय ६० मेट्रिक टन रहेको कम्पनीले जनाएको छ।

कम्पनीले आवश्यक कच्चा पदार्थका रूपमा गहुँ आन्तरिक बजारसँगै विदेशबाट समेत आयात गरी प्रशोधन गर्दै आएको छ। सात सदस्यीय संचालक टोलीद्वारा सञ्चालन भइरहेको संस्थाको नेतृत्व अध्यक्ष हेमन्तकुमार अग्रवालले गरिरहेका छन्।

वित्तीय पक्षका दृष्टिले पनि कम्पनीको अवस्था सुदृढ हुँदै गएको छ। स्वस्तिक फ्लोर मिलले कुल ७४ करोड ५९ लाख रुपैयाँ बराबरको कर्जा रेटिङ गराएको छ, जसमा दीर्घकालीन कर्जा २४ करोड ५९ लाख र अल्पकालीन कर्जा ५० करोड रुपैयाँ रहेको छ।

कम्पनीको यस उपलब्धिले छोटो अवधिमै उद्योग क्षेत्रप्रति लगानीकर्ताको विश्वास बढाएको देखिएको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *