Date

शुक्र, कार्तिक २१, २०८२
Fri, November 7, 2025

असोज तेस्रो साता परेको वर्षा र बाढीपहिरोले कृषि क्षेत्रमा ३ अर्ब ५५ करोड ८७ लाख रुपैयाँभन्दा बढीको क्षति

असोज तेस्रो साता परेको वर्षा र बाढीपहिरोले कृषि क्षेत्रमा ३ अर्ब ५५ करोड ८७ लाख रुपैयाँभन्दा बढीको क्षति

काठमाडौं, २१ कार्तिक । यस वर्ष कृषि क्षेत्रमा वर्षा र बाढीपहिरोका कारण व्यापक क्षति भएको छ । बाहिरिने समयमा परेको झरीले बालीनालीमा क्षति पुगेको हो ।

विशेषगरी गत असोज दोस्रो साता भएको भारी वर्षा र बाढीपहिरोले ठूलो नोक्सानी पुर्‍याएको थियो भने कात्तिकमा पाकेको धानबाली उठाउने बेला फेरि पानी पर्दा थप क्षति भयो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले असोज तेस्रो साता भएको क्षति विवरण संकलन गरी प्रारम्भिक तथ्यांक निकालेको छ । उक्त समय भएको वर्षा र बाढीपहिरोबाट मात्रै साढे ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको तथ्यांक छ ।

मन्त्रालयका अनुसार ३ अर्ब ५५ करोड ८७ लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको छ । यो क्षति मुख्यतया कोशी, मधेश र बागमती प्रदेशमा भएको हो । गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य क्षति देखिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्षति नभएको मन्त्रालयले जनाएको छ ।

कात्तिक दोस्रो साता भएको वर्षाले विशेषगरी पाक्न लागेको धान र तरकारी बालीमा ठूलो क्षति पुर्‍याएको छ ।

क्षति वर्गीकरण हेर्दा असोजमा बालीनालीमा मात्रै ३ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । यसबाहेक पशुपन्छीमा करिब १४ करोड ९० लाख ५२ हजार, कृषि पूर्वाधारतर्फ ४ करोड ५९ लाख ५ हजार र बीउबिजनमा २७ करोड ९४ लाख ४ हजार रुपैयाँको क्षति भएको छ ।

सबैभन्दा बढी क्षति मधेश प्रदेशमा भएको देखिएको छ, जहाँ २ अर्ब ९८ करोड ४९ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । मधेशका सबै जिल्ला प्रभावित भएका छन् । ९ हजार १ सय ८६ हेक्टर क्षेत्रफलमा धान, तरकारी, फलफूल र उखु बाली डुबान तथा कटानमा परेका छन् । यस प्रदेशमा ९९ हजार ८ सय ३३ टन बाली वस्तुमा क्षति भएको छ ।

त्यस्तै कोशीमा धान, तरकारी, अलैँची, अदुवा, केरा, आलु, चिया र कोदो गरी १ हजार ४ सय १४ हेक्टर क्षेत्रफलमा क्षति भएको छ । यस प्रदेशमा कुल ३४ करोड २४ लाख २५ हजार रुपैयाँ बराबर क्षति भएको छ । यस प्रदेशमा ६ हजार २ सय ३५ टन बाली वस्तुमा क्षति भएको अनुमान छ ।

बागमती प्रदेशमा १२ करोड ४६ लाख ३ हजार रुपैयाँको क्षति भएको छ । यहाँ ८७ हेक्टर क्षेत्रफलमा लगाएको धान, मकै, तरकारी र कोदो बाली डुबान तथा कटानबाट प्रभावित भएको छ । नुवाकोटमा ४० हेक्टर, काभ्रेमा १० हेक्टर र सिन्धुलीमा ३७ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ ।

अन्य प्रदेशमा भने कम क्षति भएको छ । गण्डकी प्रदेशमा धान, तरकारी, सुन्तला र केरा गरी १ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ भने लुम्बिनी प्रदेशमा ३ हेक्टर क्षेत्रफलमा धानबाली बालुवाले पुरेको र डुबानमा परेको तथ्यांक छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *