दीर्घ आर्थिक शिथिलता, कोरोना महामारी र प्राकृतिक विपत्तिका प्रभावहरूबाट प्रभावित बजार अहिले फेरि सक्रिय बन्दै गएको देखिन्छ। लामो समयसम्म एकल अंकको वृद्धि दरमा सीमित रहेको बीमा कारोबार अहिले दोहोरो अंकको वृद्धिदरमा पुगेको छ, जसले बजारमा नयाँ ऊर्जा भरेको छ।
जीवन बीमा क्षेत्रमा तीव्र वृद्धि
जीवन बीमा कम्पनीहरूले समीक्षा अवधिमा अत्यन्त आक्रामक व्यावसायिक विस्तार गरेका छन्। तीन महिनामा जीवन बीमा व्यवसाय २१.९५ प्रतिशतले बढेर ५० अर्ब ३६ करोड ७३ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यो कारोबार ४१ अर्ब ३० करोड १४ लाख रुपैयाँ थियो।
हाल १४ ठूला र ३ लघु गरी १७ जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन्।
सबैभन्दा उल्लेखनीय वृद्धि ‘प्रथम बीमा शुल्क’ मा देखिएको छ। समीक्षा अवधिमा कम्पनीहरूले १० अर्ब ६६ करोड १५ लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेका छन्, जुन गत वर्षको तुलनामा २१७.२४ प्रतिशतले धेरै हो। गत वर्ष सोही अवधिमा ८ अर्ब ३७ करोड ९३ लाख रुपैयाँ मात्रै थियो।
नविकरणमार्फत पनि जीवन बीमा कम्पनीहरूले ३९ अर्ब ७० करोड ५८ लाख रुपैयाँ आर्जन गरेका छन्, जसमा २०.६१ प्रतिशत वृद्धि भएको छ। गत वर्ष यो कारोबार ३२ अर्ब ९२ करोड २१ लाख रुपैयाँ थियो।
समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूले १९ लाख ८३९ वटा बीमालेख जारी गरेका छन्, जुन गत वर्षका १४ लाख ६३ हजार ७२० को तुलनामा उल्लेखनीय वृद्धि हो। हाल सक्रिय जीवन बीमालेखको संख्या १ करोड ५९ लाख ९ हजार १३५ पुगेको प्राधिकरणले जनाएको छ।
निर्जीवन बीमा क्षेत्रमा पनि स्थिर वृद्धि
निर्जीवन बीमा क्षेत्रमा पनि सकारात्मक उछाल देखिएको छ। तीन महिनामा निर्जीवन बीमा कारोबार ११.६७ प्रतिशतले बढेर १२ अर्ब ९२ करोड ४६ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यो कारोबार ११ अर्ब ५७ करोड ३६ लाख रुपैयाँ थियो।समिक्षा अवधिमा निर्जीवन बीमालेख बिक्री पनि ५.७८ प्रतिशतले बढेर ७ लाख ८० हजार ६१३ पुगेको छ। गत वर्ष सोही अवधिमा ७ लाख ३७ हजार ९३० बीमालेख बिक्री भएका थिए।
बीमाको पहुँच विस्तार
बीमा व्यवसायको विस्तारसँगै बजारको पहुँच पनि बढ्दै गएको छ। एक वर्षभित्रै ६.२१ प्रतिशत जनसंख्यामा बीमाको पहुँच थपिएको छ। प्राधिकरणका अनुसार हाल देशको कुल ४९.०५ प्रतिशत जनसंख्या बीमाको दायरामा आइसकेका छन्।नेपाली बीमा बजारले यस्तो सकारात्मक लय कायम राखेमा आगामी त्रैमासहरूमा समेत उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ।