प्रभु इन्स्योरेन्सको नाफा १२.७२% बढ्यो, वित्तीय प्रगति उत्साहजनक
काठमाडाैं, ३० कार्तिक । प्रभु इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले नाफासहित अधिकांश सूचकमा लोकलाग्दो प्रगति हासिल गरेको छ।
चालु आवको तीन महिनामा कम्पनीले ६ करोड ३१ लाख ३९ हजार रुपैयाँ नाफा कमाएको छ, जुन गत आवको सोही अवधिको तुलनामा १२.७२ प्रतिशत बढी हो। गत आवको पहिलो त्रैमासमा कम्पनीले ५ करोड ६० लाख १४ हजार रुपैयाँ नाफा कमाएको थियो।
कम्पनीको खुद बीमाशुल्क पनि बढेको छ। गत आवको पहिलो त्रैमाससम्म ११ करोड ९४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको कम्पनीले चालु आवमा सो रकम बढाएर १२ करोड ७ लाख रुपैयाँ पुर्याएको छ।
कम्पनीले कुल दाबी भुक्तानीमा पनि साढे १३ प्रतिशत वृद्धि गरेको छ। चालु आवमा दाबी भुक्तानी १० करोड ७६ लाख रुपैयाँ पुगेको छ, जुन गत आवको सोही अवधिको ९ करोड ४७ लाख रुपैयाँ भन्दा बढी हो।
समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १ अर्ब ७० करोड, महाविपत्ति कोष १० करोड ३४ लाख, र जगेडा कोष २४ करोड ९२ लाख रुपैयाँ पुगेको छ।
असोज मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १४.८५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २०२.२७ रुपैयाँ कायम रहेको छ।



