पर्यटन पुनरुत्थानको सङ्कटबिच आशा
काठमाडाैं, २ मंसिर । देशभर भदौ २३ र २४ गते उग्ररूपमा चर्किएको जेनजी आन्दोलनले नेपाली पर्यटन उद्योगलाई पुनः असहज मोडमा पुर्याएको छ। कोभिड–१९ महामारी र आर्थिक मन्दीको दीर्घ दबाबबाट अलि–अलि उक्लँदै गरेको उद्योगमा आशाको संकेत देखिन थालेको बेला आन्दोलनले पुनरुत्थानको गतिलाई एकाएक रोकिदिएको छ।
आन्दोलनका क्रममा होटल हिल्टन, हायात, चन्द्रागिरी हिल्स लगायतका प्रमुख पर्यटन संरचनामा आगजनी र तोडफोड भएपछि सम्पूर्ण पर्यटन क्षेत्र झनै संकटतर्फ धकेलिएको व्यवसायीको भनाइ छ। होटल, रेष्टुरेन्ट, यातायातदेखि ट्राभल सेवा श्रृंखला पूर्ण रूपमा अवरुद्ध हुँदा उद्योगभरै नोक्सानी बढेको देखिन्छ।
नेप्सेमा सूचीकृत होटलहरूको औसत व्यापार दोहोरो अंकले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ७ मध्ये ६ होटल तथा पर्यटन समूहका कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक विवरणले उद्योगको कठिन अवस्था उजागर गरेको छ। ती होटलहरूले तीन महिनामा १ अर्ब २८ करोड ३ लाख रुपैयाँ बराबरको व्यापार गरे पनि यो गत वर्षको तुलनामा १३.०७ प्रतिशत कम हो। व्यापार घटेसँगै नाफा–नोक्सानीका सूचकहरूमा पनि ठूलो गिरावट देखिएको छ।
सोल्टी होटल मात्र नाफामा
उद्योगको असहजताको बीच सोल्टी होटल भने नाफामा देखिएको छ।
-
नाफा: १२ करोड ३५ लाख
-
पूर्ववर्षको तुलनामा नाफा घट्ने दर: ८.३१%
-
व्यापार वृद्धि: ६२ करोड ७९ लाख (गत वर्ष ६१ करोड ९९ लाख)
यद्यपि सोल्टी बाहेक अन्य सबै सूचीकृत होटल घाटामा पुगेका छन्।
हायात (तारागाउँ रिजेन्सी) पूर्ण रूपमा बन्द
जेनजी आन्दोलनकै क्रममा प्रत्यक्ष क्षति व्यहोरेको तारागाउँ रिजेन्सी (हायात) हाल पूर्ण रूपमा बन्द छ।
-
नोक्सानी: २ करोड ३७ लाख
-
गत वर्ष सोही अवधिको नाफा: ४ करोड ५६ लाख
-
व्यापार संकुचन: ३७.८५%
-
व्यापार रकम: १७ करोड १० लाख (गत वर्ष २७ करोड ५२ लाख)
भदौ २४ को तोडफोड तथा आगजनीले होटलका संरचना, उपकरण र भौतिक सामग्रीमा ठूलो क्षति पुर्याएको छ। होटल अहिले पूर्ण मर्मत–सम्भारमा छ।
अन्य होटल तथा पर्यटन कम्पनीहरू पनि नोक्सानीमै
चन्द्रागिरी हिल्स:
-
नोक्सानी: १ करोड २४ लाख
-
व्यापार घट्ने दर: २९.१८%
-
आगजनीपछि सबै गतिविधि बन्द, बीमा र प्राविधिक मूल्यांकन जारी
ओरियण्टल होटल (र्याडिसन):
-
नोक्सानी: २ करोड ९५ लाख
-
व्यापार संकुचन: १०.७९%
-
कुल आम्दानी: २१ करोड ९७ लाख (गत वर्षभन्दा २९.१८% कम)
कालिञ्चोक दर्शन:
-
नोक्सानी: ३३ लाख ८६ हजार
-
तर व्यापार ८१.२६% ले बढेर ७२ लाखमा पुगेको
सिटी होटल:
-
नोक्सानी: ५ करोड ५६ लाख
-
व्यापार १२.०३% ले घटेर ११ करोड ५५ लाख
देशभरका होटल–रेष्टुरेन्ट ‘समान संकट’ मा
केवल नेप्सेमा सूचीकृत कम्पनीहरू मात्र होइन, देशभरका होमस्टे, ट्रेकिङ एजेन्सी, ट्राभल सेवा, रेष्टुरेन्ट, एड्भेन्चर कम्पनीदेखि साना होटलसम्म सबै प्रभावित छन्। राजनीतिक अस्थिरता, आन्दोलनको पुनरावृत्ति, पर्यटकीय पूर्वाधारमा कम लगानी तथा ढिलासुस्तीले उद्योगको व्यवसायिक वातावरण कमजोर बनेको व्यवसायीको तर्क छ।
आन्दोलनका क्रममा केही विदेशी पर्यटक घाइते तथा मृत्युसमेत भएको घटनाले ‘नेपाल सुरक्षित छैन’ भन्ने सन्देश बाहिरिएको र यसले आगामी महिनामा पर्यटक आगमनमा थप गिरावट आउने चेतावनी वित्तीय विवरणमा उल्लेख छ।
उद्योग पुनरुत्थानका लागि सहकार्य अपरिहार्य
हाल स्थिति सामान्य बन्दै गए पनि पर्यटन पुरानै लयमा फर्किन समय लाग्ने व्यवसायीको आकलन छ। कोभिड, आर्थिक सुस्ती, राजनीतिक उथलपुथल र जेनजी आन्दोलनबाट सिर्जित असर हटाउन सरकार–निजी क्षेत्रको समन्वित पहल आवश्यक रहेको उनीहरू बताउँछन्।
उद्योगका विज्ञका अनुसार, सामूहिक रणनीति, विश्वास निर्माण, सुरक्षा सुनिश्चितता र पूर्वाधार विकासमार्फत नेपाली पर्यटनलाई पुनः फुर्तिलो बनाउन सकिने विश्वास अझै बाँकी छ।



