पञ्चालकाे अर्धशतकमा कर्णाली याक्सले चितवन राइनोजलाई दियो १६७ रनको लक्ष्य
काठमाडौं, २ मंसिर । दोस्रो संस्करणको बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजसमक्ष जितका लागि चुनाैतीपूर्ण लक्ष्य प्रस्तुत गरेकाे छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर चितवन राइनोजले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कर्णाली याक्सले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएकाे हाे । कर्णाली याक्सका लागि ओपनर प्रियांक पञ्चालले शानदार प्रदर्शन गर्दै टोलीको स्कोर उकासे । पञ्चालले ४८ बलमा ६ चौका र ७ छक्काको मद्दतले ९० रनको विष्फोटक पारी खेले ।
मध्यक्रममा पवन सर्राफले पनि आक्रामक ब्याटिङ गर्दै १६ बलमा ३ छक्कासहित २७ रन बनाए भने अर्का ओपनर म्याक्स ओ’डाउडले २० रनको योगदान दिए ।
यता चितवन राइनोजका लागि सोहेल तनवीर, साई जैब र रवि बोपाराले समान १-१ विकेट लिए ।



